१ कार्तिक २०८३, आइतबार

रवि लामिछानेले लिए नागरिकता

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । रवि लामिछानेले पुन: नागरिकता लिएका छन् ।

नागरिकता प्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका लामिछानेले नागरिकता पुन: कायम गराएका हुन् ।

उनले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

लामिछानेले पुन: प्राप्तिको प्रक्रिया पूरा गरेपछि २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख गरेर नयाँ प्रमाणपत्र प्रदान गरिएको प्रशासनले जानकारी दिएको छ ।

लामिछानेले नागरिकता पुन: प्राप्तिका लागि आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेका थिए । उनले आज दिउँसो नागरिकता लिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

आइतबार बिहान साढे ११ बजेतिर कार्यालय पुगेका लामिछानेले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र ग्रहण गरेका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद गुमाएका थिए ।

उनले आज प्रक्रिया पूरा गरी पुन: नागरिकता लिएका हुन् । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुन: प्राप्तिका लागि निवेदन दिएका थिएनन् । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।