
काठमाडौं, १४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताएका छन् ।
पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको बताउँदै यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको बताए ।
मुलुकभित्र सञ्चालित भौतिक पूर्वाधारका काम समयमै सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई ताकेता गरिरहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका सचिव र मातहतका कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइसकेको बताए।
वर्तमान सरकार गठन भएको एक महिनामै अर्थतन्त्रमा सुधारका संकेत देखिएको उनको दाबी थियो । अब पुँजीगत खर्चको दायरालाई तीव्र रुपमा वृद्धि गरिने र अवरुद्ध भएका राष्ट्रिय गौरवलगायत महत्वपूर्ण योजनाको काम धमाधम हुने उनको जिकिर छ ।
सरकारले आर्थिक मितव्ययिता अपनाउन विभिन्न खालका निर्णय समेत गरिसकेको बताउँदै अर्थतन्त्रको विकासमा सरकारको मुख्य ध्यान गएको बताए । उनले आफू स्वास्थ्य मन्त्रीमा नियुक्त भैसकेपछि ग्रामीण क्षेत्रसम्म कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने अध्ययन गरी समस्याहरुको पहिचान गरिरहेको बताए ।
उनले केपी ओली सरकारका पालामा शुरु गरिएका सबै पालिका स्तरका आधारभुत अस्पताललाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे । कुनै पनि अस्पताललाई बजेटको कमी हुन नदिइ समयमै अस्पताल निर्माण सम्पन्न गरेर गुणस्तरीय सेवा प्रवाह शुरु गर्न आफ्नो ध्यान केन्द्रत गर्ने उनको भनाइ छ ।
मन्त्री गिरीले विगत सात दशकदेखि बन्द रहेको तत्कालीन फलामखानी गाविसमा रहेको फलामखानीको पुन: उत्खनन्का लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताउँदै फलामखानी उत्खनन् गर्न सकेमा गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री गिरीले अघिल्लो संसदको कार्यकालमा पर्वतका सबै पालिकामा कालोपत्रे सडक सुविधा पुर्याएको बताउँदै अबको पाँच वर्षमा जिल्लाका ६१ वटै वडाका केन्द्रमा कालोपत्रे सडक पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरे । त्यसैगरी एक घर एक धारा खानेपानी, सिँचाई, स्वास्थ्य पूर्वाधार र गुणस्तरीय शिक्षा विस्तारमा समेत सक्रिय रहने बताए ।















प्रतिक्रिया