१ कार्तिक २०८३, आइतबार

दानपेटिकामा जम्मा भएको रकममा आफ्नो तलब थपेर विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् ।

यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गरेका थिए। उनले माला र खादाको खर्च दान पेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने उद्घोष गरेका थिए ।

दान पेटिका माघ १३ गतेदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउदै उहाँले विदाबाहेक सात दिनमा सङ्कलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख चार सय ४४ रकम शिक्षामा खर्चिने उल्लेख गरेका हुन् ।

“आम जनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दान पेटिकामा रकम हाल्न भन्यौँ, सङ्कलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रुपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ”, पर्यटनमन्त्रीले उल्लेख गरेका छन् ।

पर्यटनमन्त्रीको सचिवालयका अनुसार सङ्कलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने जनाइएको छ । उक्त प्रयोजनका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ ।