शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा

दैनिक नेपाल २०७९ माघ १३ गते १४:०६

काठमाडौं, १३ माघ । यही माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ।

पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुलनजिक ठीक १०:५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो। सो अवसरमा घटनामा निधन भएका सबै यात्रुको स्मृतिमा दीप प्रज्वलनसमेत गरियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताए।

दुर्घटनाका आला घाउहरु पुर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ। उनले दुर्घटनापछि जोखिम मोलेर उद्धारमा महत्त्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए। माघे सङ्क्रान्तिको बिहान काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर विमान बिहान १०स्५८ बजे पोखरा वडा नं ७ र १५ को सिमास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो।

घटनामा विमानमा सवार ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने एक जनाको खोजी जारी छ। दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित