शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ १२ गते २१:२९

काठमाडौं, १२ माघ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ ।

गृहमन्त्रालयले छानबिनका लागि ६ सदस्यीय समिति गठन गरेको छ । यस्तै, आचार्यले सामाजिक सञ्जालमा नाम लिएका व्यक्तिहरुमा आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको छ । अधिवक्ता स्वागत नेपालले जाहेरी दर्ता गरेका हुन् ।

यसैबीच बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई शीर्ष नेताबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभाको उपनिर्वाचन लगायत विषयमा छलफल भएको छ ।

हेरौँ बिहीबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१. असहयोग गर्नेविरुद्व जाहेरी : काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्व आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता, गृहमन्त्रालयले पनि गठन गर्‍यो ६ सदस्यीय छानबिन समिति ।

२. प्रधानमन्त्री र अध्यक्षबीच भेटवार्ता : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, राष्ट्रपति, उपराष्ट्र र राष्ट्रियसभाको उपनिर्वाचन लगायत समसामायिक विषयमा छलफल ।

 

३. देवी सरस्वतीको उपासना : विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरी श्रीपञ्चमी मनाइयो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारीले काठमाडौंको हनुमानढोकास्थित नसलचोकमा पुगेर गरे वसन्त श्रवण ।

४. किन भाग्दैछ नेतृत्व ? : काँग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि तेस्रो पटक पनि स्थगित, अर्को बैठक अनिश्चित ।

५. बालने अब पाउलान् सहयोग ? : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री रवि लामिछानेलाई भेटेरै मागे सुकुम्बासी बस्ती हटाउन सहयोग, कानुनअनुसार सुकुम्बासी वस्ती हटाउनुपर्ने भए सहयोग गर्ने गृहमन्त्री लामिछानेको आश्वासन ।

६. राष्ट्रपतिमा सहमति खोजौँ : राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने नेकपा माओजादी केन्द्रको निर्णय, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको काँग्रेससँग पनि छलफल गर्नुपर्नेमा जोड ।

७. प्रेमका लागि न्याय माग : मंगलबार काठमाडौंको बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै बिहीबार पनि माइतीघर मण्डलामा प्रदर्शन, प्रदर्शनकारीको सरकारलाई प्रश्न– देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?

८. हाटेल, रेष्टुरेन्टलाई धक्का : होटेल रेष्टुरेन्टहरुले सेवाग्राहीबाट लिने सेवा शुल्कसम्बधी व्यवस्था सर्वोच्च अदालतद्वारा खारेज, शुल्कसम्बन्धी व्यवस्था संविधानको धारा ४४ तथा धारा ११५ को उपधारा १ को भावना र मर्म अनुकूल नदेखिएको ठहर ।

९. सापकोटालाई उपाध्यक्ष बनाउने : पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने माओवादी केन्द्रको तयारी, वरियताक्रममा अर्का उपाध्यक्ष कृष्णबहादुर महराभन्दा पछाडि रहने ।

१०. भन्सार दिवसमा अर्थमन्त्री : भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ, जनगुनासो नआउने गरी काम गर्न र बैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न कर्मचारीलाई भन्सार विभागका कर्मचारीलाई निर्देशन ।

११. जेल सरुवा गर्ने बाटो खुल्यो : मोरङ कारागारका चौकीदार अभिषेक गिरीको जेल सरूवा कार्यान्वयन गर्न उच्च अदालत विराटनगरको आदेश, कारागार व्यवस्थापन विभागले गरेको स्थानान्तरण कानुनी रूपमा त्रुटिपूर्ण नदेखिएको ठहर ।

१२. राहदानी विभागको तयारी : सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने राहदानी विभागको तयारी, कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने भनाइ ।

१३. झिनो अंकले घट्यो नेप्से : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले ओरालो लाग्यो, नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय ८३ दशमलब २१ मा सीमित ।

१४. विष्फोटमा पशुपालको गयो ज्यान : मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको मृत्यु, मृत्यु हुनेमा सबै फिरन्ते पशुपालक भएको जानकारी ।

१५. आसिफले जिते अवार्ड : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ सेख आईसीसीले प्रदान गर्ने स्पिरिट अफ क्रिकेटको अर्वाडबाट सम्मानित, शेख स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी ।

प्रतिक्रिया
सम्बन्धित