बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ

दैनिक नेपाल २०७९ माघ ११ गते ७:४६

क्यानबेरा, ११ माघ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

मंगलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो शहर एलिस स्प्रिङ्समा प्रधानमन्त्री अल्बानीजले समुदायका नेताहरूसँग भेटघाट गरी यस क्षेत्रमा मदिरा सेवनबाट हुने गरेको आपराधिक गतिविधिका विषयमा छलफल गरे । जारी संकटमा संघीय सरकारलाई हस्तक्षेप गर्न प्रतिपक्षी दलको चर्को दबाबपछि प्रधानमन्त्रीको सो भ्रमण भएको हो ।

उत्तरी क्षेत्र एनटी प्रहरीको तथ्याङ्क अनुसार एलिस स्प्रिङ्समा गत वर्षको तुलनामा हिंसात्मक आक्रमण ४३ प्रतिशतले बढेको छ।

आदिवासी समुदाय र कानून प्रवर्तन एनटी सरकारका प्रतिनिधिहरूसँग भेट गरेपछि प्रधानमन्त्री अल्बानीजले एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मदिरा खरिद गर्न अनुमति दिइने बताएका छन् ।

सोमबार र मंगलबार ‘टेकवे अल्कोहल-मुक्त दिनहरू’ हुनेछन् र टेकअवे रक्सी बिक्री दिउँसो ३ बजेदेखि ७ बजे बीचको अवधिमा मात्र हुनेछ ।

मदिराजन्य हिंसा एलिस स्प्रिङ्ग्सका जटिल समस्याहरू हुन् र तिनीहरूलाई पूर्ण समाधान चाहिएको र त्यसका लागि विभिन्न तहका सरकारहरू मिलेर काम गर्न आवश्यक रहेको अल्बानीजले पत्रकारहरूलाई बताएका हुन् । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित