शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

फेरि बन्द गर्‍यो चीनले व्यापार नाका

दैनिक नेपाल २०७९ माघ ९ गते ७:२९

काठमाडौं, ९ माघ । नेपाललाई कुनै सूचना नदिई चिनियाँ पक्षले एक पक्षीय रूपमा दुई व्यापारिक नाका बन्द गरेको छ । चीनतर्फ नयाँ वर्षसँगै अन्य चाडपर्व सुरु भएको बहाना बनाउँदै केरुङ र तातोपानी नाका बन्द गरिएको हो । अन्तर्राष्ट्रिय व्यापारमा नाका बन्द गर्दा सम्बन्धित पक्षलाई पूर्वजानकारी दिनुपर्ने मान्यता छ । तर चिनियाँ अधिकारीले नेपाली पक्षलाई औपचारिक रूपमा कुनै जानकारी नदिई केरुङ र तातोपानी नाकाबाट आयात-निर्यात रोकेको हो । नाका बन्द भएपछि त्यहाँबाट हुने आयात-निर्यात ठप्प भएको छ ।

१५ दिनका लागि केरुङ नाका बन्द गरेको अनौपचारिक माध्यमबाट जानकारी मिलेको रसुवागढी भन्सारका प्रमुख नारायणप्रसाद भण्डारीले बताए । ‘नाका बन्द गर्ने औपचारिक कुनै जानकारी छैन,’ भण्डारीले भने, ‘शुक्रबार सामान आएको होला भनेर जाँदा ढोका बन्द थियो ।’ केरुङ नाका माघ २१ गतेसम्म बन्द हुने जनाइएको छ । अहिले केरुङ नाकाबाट दैनिक एक दर्जन कन्टेनरमा सामान आयात हुने गरेको थियो । तातोपानी नाका माघ १४ गतेसम्मका लागि बन्द भएको छ । तातोपानी नाकाबाट दैनिक तीन/चार वटा कन्टेनर आउने गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएलगत्तै पुसको पहिलो साता रसुवागढी नाकाबाट सामान निर्यात सुरु भएको थियो । कोभिड १९ सुरु भएपछि ३० महिनाअघि चीनले आयात-निर्यातमा रोक लगाएको भए पनि कोभिड घटेपछि आयात खुकुलो पारेर नेपालबाट हुने निर्यात रोकेको थियो । दाहाल प्रधानमन्त्री भएलगत्तै आयात-निर्यात सुरु भए पनि फेरि नाका बन्द गरेको भन्दै व्यापारी चिन्तित भएका छन् । चिनियाँ अधिकारीले विगतमा पनि यसैगरी एक पक्षीय रूपमा नाका बन्द गर्ने गरेका थिए ।

चीनले कोभिडको बहाना बनाउँदै रसुवागढी र तातोपानी नाका पटकपटक बन्द गरी दुःख दिएको भन्दै व्यापारीले गुनासो गर्दै आएका थिए । पुसको पहिलो साताबाट निर्यात सुरु भएकोमा अहिले फेरि बन्द गरेपछि सामान आयात-निर्यात ठप्प हुँदा व्यापारी मर्कामा परेका छन् ।

लामो समयदेखि चीनसँगका दुई नाका रसुवागढी र तातोपानीबाट सहज रूपमा नियमित सामान आयात-निर्यात हुन सकेको छैन। व्यवसायी र स्थानीयले नाका निरन्तर सुचारु गर्न माग गर्दै आए पनि चिनियाँ पक्षले आफूअनुकूल गर्दै आएको छ । नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ। तातोपानी र केरुङबाट सामान आयात गर्दा १८-२० दिनमै आइपुग्ने भएकाले नेपाली व्यापारी यी दुई नाकाबाट सामान ल्याउन चाहन्छन् । भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०-४२ दिन लाग्छ । तातोपानी र केरुङ हुँदै आयात गर्दा आधा समय कम लाग्ने भएकाले कम खर्चिलो पनि हुन्छ । तर चिनियाँ पक्षले नेपाली व्यवसायीको समस्यालाई सम्बोधन गरेको छैन । नेपाली व्यवसायी र सरकारले नाका बिनाअवरोध निरन्तर सुचारु गर्न माग गर्दै आए पनि चिनियाँ अधिकारीले बेवास्ता गर्दै आफूखुसी नाका खोल्ने र बन्द गर्ने गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित