
काठमाडौं, ८ माघ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले राष्ट्रिय युवा संघ पर्यटन विभागले पदयात्रा कार्यक्रम आयोजना गरेको छ ।
आइतबार बिहान साढे ८ बजेबाट सुरु भएको पदयात्रा कार्यक्रम नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका थिए। बस्नेतले नगरपालिका क्षेत्रका डाँडा आफैँमा ‘भ्यूटावर’ रहेको चर्चा गर्दै यहाँबाट काठमाडौं उपत्यकाका साथै विभिन्न हिमश्रृंखला देख्न सकिने बताए ।
अनन्तकुण्डको ऐतिहासिक एवं धार्मिक महत्वबारे चर्चा गर्दै बस्नेतले राजा अंशु बर्माले रानी बिरामी हुँदा यहीँबाट पानी लगेर छर्किएपछि निको भएको किम्बदन्ती रहेको सुनाए। प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा पनि यहीँ कुण्डको पानी लगेर हालेको इतिहास रहेको समेत बस्नेतले बताए ।
‘यसअघि म सांसद छँदा यस क्षेत्रमा पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको थिएँ’, उनले भने, यो क्षेत्र धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण छ’ ।
यस क्षेत्रमा जङ्गल सफारी गर्दै जङ्गली जनावर, चराचुरुङ्गी नियाल्न पनि सकिने उनले बताए। कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्य पहिचान गर्दै आन्तरिक पर्यटक बढाउन सकिनेमा जोड दिए ।
त्यस्तै पदयात्रा उद्घाटन कार्यक्रममा सहभागी भएका बागमती प्रदेश सदस्य किरण थापा यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउँदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र विकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएको बताए।
यस पदमार्गमा मृग, बँदेल, खरायो, कालिजलगायतका जङ्गली जनावर तथा पशुपंक्षी अवलोकन गर्न सकिने साथै एक हजार आठ सय मिटरको उचाइमा पुगेपछि १७ वटा हिमाल र उपत्यकाका तीनवटै सहरको दृश्यावलोकन गर्न सकिने संघका पर्यटन विभाग प्रमुख मोदनाथ सिलवाल (सन्तोष) ले जानकारी दिए ।
रातोपाटीबाट सुरु भएको पहिलो चरणको पदयात्रा अनन्तकुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यूटावर, होमस्टेहुँदै रिसालडाँडा पुगेर समापन भएको थियो।
















प्रतिक्रिया