शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ ८ गते २१:५९

काठमाडौं, ८ माघ । आइतबार तामाङ समुदायको ल्होसार पर्व भव्यताका साथ मनाइएको छ ।

यसैबीच, काठमाडौंको टुँडिखेलमा पनि ल्होसारको अवसरमा भव्य कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

मञ्जुश्री पात्रोअनुसार आइतबारबाट २८५९ औँ वर्ष सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

हेरौँ आइतबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१. ल्होसार मनाइयो : तामाङ समुदायको ल्होसार पर्व विभिन्न कार्यक्रम गरी मनाइयो, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त ।

२. प्रधानमन्त्रीको चिन्ता : सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा चिन्ता व्यक्त, ल्होसार पर्व तामाङ जातिको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको भनाई ।

३. प्रतिपक्षी हामी नै हौँ : प्रमुख प्रतिपक्षी दलको सुविधा माग्दै नेपाली काँग्रेसले संसद सचिवालयलाई लेख्यो पत्र, प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिन माग ।

४. सरकार जोगाउने र ढाल्ने खेल भयो : सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, लोकतान्त्रीक अभ्यास गर्ने र स्वस्थ तवरले चल्ने हो भने समाजलाई मद्धत पुर्‍याउन सकिने धारणा ।

५. गल्ती भयो : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर गल्ती भएको काँग्रेस शेखर कोइराला पक्षको ठहर, भावी पार्टी सभामति शेखर कोइरालालाई तोक्नुपर्ने उपसभापति धनराज गुरुङको प्रस्ताव ।

६. बल्ल प्रहरीले लियो एक्सन : मधेश आन्दोलनका क्रममा प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले जारी गर्‍यो ७७ जिल्लामै सर्कुलर, कोइरी भारत भागेको प्रहरीको आशंका ।

७. जनमतको घुर्कीपछि… : जनमत पार्टीले पाउने मन्त्रालयकाबारेमा सोमबार टुंगो लाग्ने, रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले अझै गरेनन् पदभार ग्रहण ।

८. स्थायी कमिटी बैठक डाकियो : माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, माघ १२ गते बस्ने बैठकमा नेपाल समाजवादी पार्टी लगायत विभिन्न दलहरुसँगको एकताका विषयमा छलफल हुने ।

९. मुलुकले स्थिरता पाएन : मुलुकमा राम्रो संविधान बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको पूर्व राष्ट्रपति डा. रामवरण यादवको भनाइ, मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बनेको दाबी ।

१०. अब स्वतन्त्र रहेनन् : मधेश प्रदेश दुईजना स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश, स्वतन्त्र सांसदद्वय सुरिता साह र प्रमोद कुमार जैसवाललाई अध्यक्ष उपेन्द्र यादवले गरे पार्टीमा स्वागत ।

११. भारतमा नेपालीको हत्या : भारतमा दुई नेपाली युवकको अपहरण गरी हत्या, हत्या हुनेमा जनकपुरका २२ वर्षीय रोहित साह र २३ वर्षीय विष्णु साह ।

१२. दुर्घटनामा मृत्यु : सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ जना घाइते, मृत्यु हुनेमा जिप चालक २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी ।

१३.रोकियो दुबई प्रोपर्टी शो : प्रहरीले रोक्यो काठमाडौंको सोल्टी होटलमा जारी दुबई प्रोपर्टी शो, नेपाल राष्ट्र बैंक समेत यस्तो मेला आयोजना गर्न नहुने बताएकोमा मेला सञ्चालन भएको सूचना पाएपछि हस्तक्षेप गरिएको प्रहरीको भनाइ ।

१४. बन्दुकधारीको हमला : अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु, स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाउँदा अन्य १० जना घाइते ।

१५. मुख्य प्रशिक्षक बन्दै मोन्टी : मोन्टी देसाईलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी, अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गर्‍यो ।

 

प्रतिक्रिया
सम्बन्धित