शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ ७ गते २१:५७

काठमाडौं, ७ माघ । शनिबार प्रतिनिधि सभाले उपसभामुख पनि पाएको छ ।

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगर निर्वाचित भएकी हुन् । इन्दिरालाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १६६ जना सांसदले मत दिएका थिए ।

यसैबीच, शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग भेट गरेकी छिन् ।

चाँगुनारायण मन्दिर दर्शनका लागि पुगेकी भण्डारी बिजुक्छेलाई भेट्न उनकै निवास पुगेकी थिइन् । राष्ट्रपति भण्डारी र बिजुक्छेबीच करिब ४० मिनेट कुराकानी भएको थियो ।

हेरौँ शनिबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१. इन्दिरा बनिन् उपसभामुख : प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित, राना मगरको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो, एकजनाले निर्वाचनमा भाग नै लिएनन् ।

२. राष्ट्रपति बिजुक्छे निवास पुगेपछि… : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विछुक्छेसँग निवासमै पुगेर गरिन् भेट, बिजुक्छेलाई पत्नी वियोगप्रति समवेदना दिनुका साथै समसामयिक विषयमा कुराकानी ।

३. स्वास्थ्य क्षेत्र प्राथमिकतामा : आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतमा राखेर आवश्यक नीतिगत र व्यवहारिक निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, प्रोेटीन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध रहेको दाबी ।

४. सभामुखको प्रतिवद्वता : जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकका रुपमा आत्मसात् गर्ने सभामुख देवराज घिमिरेको भनाइ, पदको गरिमा र साखको अभिवृद्धि गर्नु आफ्नो संवैधानिक दायित्व भएकाले सदैव सचेत र क्रियाशील रहने उल्लेख ।

५. एकताका लागि जुट्यो सहमति : नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताका लागि जुट्यो सहमति, एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति ।

६. शहिदको अपमान गरेको होइन : जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा गराएको मौनधारणमा नउठ्दैमा मधेश आन्दोलनका सहिदलाई अपमान गरेको भन्न नमिल्ने उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनको भनाइ, संसदमा राउतले गरेको काम संसदीय मर्यादा र नियम विपरीत भएको तर्क ।

७. अर्थमन्त्रीको चिन्ता : मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चूनौती खडा भएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ, गत बर्ष यही समयमा राजस्व परिचालनभन्दा पनि यस बर्ष झन पछाडि परेको दाबी ।

८. नेता, कार्यकर्तालाई चेतावनी : गएको निर्वाचनमा अर्कै पार्टीका उम्मेदवारलाई भोट माग्नेलाई कारबाही गर्ने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको चेतावनी, घण्टीको प्रचार गर्नेले कारणसहित अहिले नै पार्टीमा इमान्दारीका साथ जानकारी गराउन आग्रह ।

९. सांसद पक्राउ पर्छन ? : फरार प्रतिवादी संसद्मा आउँदा पनि पक्राउ गर्न नसकेको विषयमा चाँडै नतिजा आउने गृहमन्त्री रवि लामिछानेको दाबी, आफू नतिजामा केन्द्रीय भएको र विज्ञप्ति सबैको जानकारीका लागि निकालिएको स्पष्टोक्ति ।

१०. बराल नियुक्त : गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त, उच्च अदालत पोखराका मुख्य न्यायाधीस डिल्लीराज आचार्यले गराए पथ तथा गोपनीयताको सपथ ।

११.अचेत अवस्थामा फेला : काठमाडौंको कोटेश्वरमा एकै परिवारका चारजना अचेत अवस्थामा फेला, अचेत फेला पर्नेहरुमा ९० वर्षीया छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र ३५ दिनका श्रीयाल खड्का, सिभिल अस्पतालको आईसीयूमा उपचार हुँदै ।

१२.ब्लाक बक्स फ्रान्स पठाइँदै : माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने, दुर्घटनाको प्रभावकारी अनुसन्धानका लागि सहयोग पुग्ने विश्वास ।

१३. बालिका बलात्कृत : दाङमा ६३ वर्षीय वृद्धद्वारा १३ वर्षीया बालिका बलात्कृत, बलात्कार आरोपमा घोराही उपमहानगरपालिका–९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङ पक्राउ ।

१४. शान्ति सेनाको चेतावनी : लेबनान र इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बलले दियो चेतावनी, युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा कडा निगरानी गर्न र तनाव कम गर्न मैदानमा तम्तयार रहेको भनाई ।

१५. सुदूरपश्चिमलाई उपाधि : प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई, शनिबार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ ६ विकेटले पराजित ।

 

 

प्रतिक्रिया
सम्बन्धित