शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

संसदमा सभामुखको पहिलो सम्बोधन : जनउत्तरदायी र जवाफदेही बन्ने प्रण

दैनिक नेपाल २०७९ माघ ७ गते १६:४०

काठमाडौं, ७ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथप्रदर्शकका रुपमा आत्मसात् गर्ने बताएका छन् ।

सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र सांसदलाई स्वागत गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा सञ्चालनका लागि संविधान र प्रचलित कानुन एवम् प्रतिनिधिसभा नियमावलीले गरेका मार्गदर्शन नै सभा सञ्चालनका प्रमुख आधार रहने र जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथप्रदर्शकका रुपमा आत्मसात् गर्ने बताएका हुन् ।

संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनतासमक्ष पुग्ने र प्रतिपक्षी दल सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषबारे सत्तापक्षलाई सचेत र खबरदारी गर्ने उनले बताए ।

उनले सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकाले यो पदको गरिमा र साखको अभिवृद्धि गर्नु आफ्नो संवैधानिक दायित्व भएकाले सदैव सचेत र क्रियाशील रहने उल्लेख गरे ।

उनले सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासको अनुशरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित