
काठमाडौं, ७ माघ । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले आफूहरुले मधेश आन्दोलनका शहीदको अपमान गरेको भन्न नमिल्ने बताएका छन् ।
शनिबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले गत ५ गतेको संसद बैठमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश आन्दोलनमा मृत्यु भएकाप्रति मौनधारण गर्न गरेको आग्रहपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री लिङ्देनसहित कतिपय सांसदहरु उठेका थिएनन् ।
राउतले संसदमा देखाएको हर्कत संसदीय मर्यादा र नियम विपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी नभएको उपप्रधानमन्त्री लिङ्देनले स्पष्ट पारेका हुन् । संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने उनले बताए ।
‘संसदको मर्यादा हुन्छ, उहाँ रुलिङ सभामुखको चल्छ, यति कुरा पनि दोस्रो पटक निर्वाचित भएको मैले बुझिन भने, म भावनामा बगेँ भने संसदमा परम्परामा राम्रो छोड्दैन’ उनले भने, ‘कि सभामुखले रुलिङ गर्नुपर्यो । कि मेरो प्रधानमन्त्री उठ्नुपर्यो। यसो भन्दैमा हामीले मधेश आन्दोलनको शहीदको अपमान गरेको भन्न पाइँदैन, यो गलत कुरा भइरहेको छ, यो गलत कुरा लान पाइँदैन,’ उनले भने ।
लिङ्देनले आफूहरूले सो क्रममा शहीदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे ।
‘यसको अर्थ बाहिर के गइरहेको छ भने कि हामीले मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूका प्रति हाम्रो चाहिँ सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ । तर संसद्को एउटा मर्यादा हुन्छ । एउटा नियम हुन्छ । र, रुलिङ सभामुखको चल्छ’, उनले भने ।















प्रतिक्रिया