सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ ६ गते २२:१५

काठमाडौं, ६ माघ । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिरिमले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

बिहान शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् । यसैबीच, सभामुखका लागि पनि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपसभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र काँग्रेसबाट मुक्तादेवी यादव उम्मेदवार बनेकी छिन् ।

यसैबीच काँग्रेसले उपसभामुखमा यादवलाई मतदान गर्न पार्टीमा ह्वीप जारी गरेको छ । सांसदहरुलाई अनिवार्य उपस्थित हुन र यादवलाई मतदान गर्न काँग्रेसले ह्वीप जारी गरेको हो । सभामुखको निर्वाचनमा पनि काँग्रेसले ह्वीप जारी गरेको थियो ।

हेरौँ शुक्रबार दिनभरका मुख्य मुख्य समाचारका हेडलाइनहरु-

१. सभामुखले लिए सपथ : प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण, शीतलनिवासमा सपथ लिएलगत्तै संसद भवन पुगेर आजै ग्रहण गरे प्रदभार ।

२. उपसभामुखमा दुई जनाको प्रतिस्पर्धा : प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवद्वारा उम्मेदवारी दर्ता, भोलि निर्वाचन हुँदै ।

३. सराहनीय निर्णय : मृत्युपश्चात् अंगदान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा, आफ्नो घोषणाले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास व्यक्त ।

४. असल छिमेकी बन्छौँ : मिलिट्री वेस वा सैनिक गतिविधि र अड्डाहरू नेपालमा राख्न नदिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घोषणा, छिमेकीहरूका लागि नेपाल असल छिमेकी बन्न चाहेको भनाइ ।

५. कांग्रेसद्वारा ह्वीप जारी : नेपाली काँग्रेसद्वारा उपसभामुख पदमा पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न ह्वीप जारी, प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन ।

६. अलपत्रहरू स्वदेश फिर्ता : वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर बन्धक बनाइएका १२ जना नेपाली स्वदेश फर्किए, गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे र टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल आइपुगे ।

७. एसपीहरूको सरुवा : सशस्त्र प्रहरीका ९७ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा, रिजर्भ गण र तालिम शिक्षालयहरूमा कमाण्ड गरिसकेका सशस्त्र प्रहरी उपरीक्षकहरू दोस्रो प्राथमिकतामा र विगतमा मुख्य गणमा कमाण्ड गरिसकेका एसपीलाई तेस्रो प्राथमिकतामा राखिएको मुख्यालयको भनाइ ।

८. घटाइयो मन्त्रालयको संख्या : नेकपा एमाले नेतृत्वको सरकार बनेसँगै प्रदेश १ सरकारले घटायो चार वटा मन्त्रालय, १३ वटा मन्त्रालय रहेको प्रदेश १ मा अब ९ वटा मात्रै रहने ।

९. स्पट फिक्सिङ कन्फर्म : काठमाडौंमा गत साता सम्पन्न नेपाल टी ट्वेन्टी लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको ठहर, सोमबार प्रतिवेदन सार्वजनिक गर्ने तयारी ।

१०. उपमहासचिव पुन डिस्चार्ज : ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज, तत्कालका लागि स्वास्थ्यमा सुधार आए पनि कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरूको सुझाव ।

११. मुख्यमन्त्रीले पाए विश्वासको मत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट पाए विश्वासको मत, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका २५ जना सांसदले शर्माको पक्षमा गरे मतदान ।

१२. हवाई मार्गका लागि आग्रह : पर्यटनमन्त्री सुदन किराती र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, भारतसँग थप हवाई प्रवेश मार्ग दिन पर्यटनमन्त्री किरातीको आग्रह ।

१३. सुस्मितालाई न्याय : जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ की २४ वर्षीया सुस्मिता केसीको हत्या आरोपमा ससुरा, दुई जना नन्द र ज्वाइँलाई सुनायो जन्मकैद फैसला, ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष कैद र सुस्मिताकी सासुलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैद ।

१४. विरोध प्रदर्शन : फ्रान्समा निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन, देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह ठप्प ।

१५. खेल तालिका सार्वजनिक : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, डबल राउण्ड रोबिनको आधारमा हुने खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने ।

प्रतिक्रिया
सम्बन्धित