
चितवन, ६ माघ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले नि:शुल्क न्यूरो मेडिसिन सेवा सुरू गरेको छ ।
अस्पतालले विशिष्टिकृत सेवा विस्तार गर्ने क्रममा बहिरङ्ग सेवा (ओपीडी) टिकट नि:शुल्क गरेर न्यूरो मेडिसिन सेवा सुरू गरेको हो । विभागमा उपचार गर्न आउने बिरामीका लागि प्रयोगशाला (ल्याब) र रेडियोलोजी सेवामा ५० प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ ।
भारतको एम्सबाट डीएम गरेका न्यूरोलोजिष्ट प्राडा अभयकान्त तिवारी आएसँगै अस्पतालले यो सेवा सुरू गरेको हो । प्राडा तिवारीसँग ३५ वर्ष लामो अनुभव रहेको छ । अस्पतालमा लामो समयदेखि न्यूरो मेडिसिन सेवा पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन ।
यसैगरी उपप्राध्यापक डा. प्रवेश पन्तले पनि सोही विभागबाट सेवा दिदै आएका छन् । डीएम अध्ययनरत पन्त र प्राडा तिवारीले न्यूरो मेडिसिन विभागका सम्पूर्ण उपचार सेवा दिदै आएको अस्पतालले जनाएको छ ।
अस्पतालबाट अब नशाका विभिन्न समस्याहरुको उपचार हुनेछ । टाउको दुख्ने, माइग्रेन, हातखुट्टा झम्झमाउने, हातखुट्टा बाउँडिने, हातखुट्टा पोल्ने, उठ्न बस्न गाह्रो हुने, प्यारालाइसिस, छारेरोग, स्मरण शक्तिमा कमी, पार्किन्सन्स, नशा च्यापिएकोलगायत नसासम्बन्धी सम्पूर्ण समस्याको उपचार हुने न्यूरो मेडिसिन विभागका प्रमुख समेत रहेका प्राडा तिवारीले जानकारी दिए ।













प्रतिक्रिया