३१ आश्विन २०८३, शनिबार

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ‘ए’ डिभिजन लिगअन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेदेखि सुरू हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुने खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन् । रंगशालामा हुने उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

यस पटक चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ ।

साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुने एन्फाले जनाएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ । फेयर प्ले अवार्ड विजेताले ३ लाख पाउने छन् ।