२९ आश्विन २०८३, बिहिबार

दलहरूको ध्यान नयाँ राष्ट्रपतितिर

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ ।

सत्ता गठबन्धनकोे प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ । एमालेले उठाउने उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने दाबी पार्टी अध्यक्ष केपी ओलीले गरेका छन् ।

सभामुखको निर्वाचनपछि संसद् भवनबाट बाहिरिने क्रममा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताए । ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ,’ उनले भने, ‘त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ । त्यस्तो हुन सक्छ ।’

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि नयाँ राष्ट्रपति आाफूअनुकूल बनाउने दाउमा छ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति छ । सोही रणनीतिअनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेस निर्वाचनअघिको गठबन्धन ब्युँताउने प्रयासमा छ । कांग्रेस र माओवादी शीर्ष नेताहरूबीच राष्ट्रपति निर्वाचनमा मिलेर अघि बढ्ने र प्रधानमन्त्रीमा दाहाललाई कांग्रेसले विश्वासको मत दिने समझदारी बनेको निकटहरूको दाबी छ ।

कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीसहितका नेताहरूले संशय व्यक्त गर्दै आएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले एमाले आशंकालाई बल पुग्नेगरी आफू सहमतिमै राष्ट्रपति चयनको पक्षमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयनमा निर्वाचन हुने भए पनि राष्ट्रपति र उपराष्ट्रपतिका लागि सहमतिको प्रयास भइरहेको बताउँदै दाहालले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो। हामी प्रयास गरिरहेका छौं ।’ एमालेको समर्थन लिएर प्रधानमन्त्री बन्ने क्रममा दाहालले सभामुख र प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन गर्ने समझदारी गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।