३१ आश्विन २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : सदनमा सभामुख चयन, अस्पतालमा डाक्टरलाई प्रवेश निषेध !

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । आज प्रतिनिधि सभाले सभामुख पाएको छ ।

सभामुख पदमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । पहिलो पटकको संसद यात्रामै उनले सभामुखजस्तो गरिमामय जिम्मेवारी प्राप्त गरेको विषय बिहीबार प्रमुख बन्यो ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने र कांग्रेसले गठबन्धन भत्काएर राष्ट्रपति लिन खाजेको विषय पनि आजका प्रमुख विषय रहे ।

यस्तै, पोखरामा भएको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाएको, विवादपछि अस्पतालमा डाक्टरलाई नै प्रवेश नदिइएको, हवाई यात्रुको संख्या घटेको तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएकोलगायत विषयमा समाचारहरू आज दिनभर प्रमुख रहे ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. एमालेका घिमिरे बने सभामुख : नेकपा एमालेका देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित, २६८ सांसद उपस्थित सभाबाट घिमिरेले १६७ मत र प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पाइन् १०० मत । उपसभामुखको निर्वाचन माघ ७ गते गरिने ।

२. प्रचण्डको इच्छा के हो ? : राष्ट्रपतिका लागि समझदारी खोज्ने प्रयास भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने प्रतिक्रिया ।

३. एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति बन्छ : राष्ट्रपतिका लागि एमालेले खडा गर्ने उम्मेदवार राष्ट्रिय सहमतिको हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्ति अशुभको सङ्केत भएको टिप्पणी ।

४. दबाब र प्रभाव स्वीकार्य छैन : विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने गृहमन्त्री रवि लामिछानेको स्पष्टोक्ति, कानूनी प्रक्रियामा कसैको दबाब र प्रभाव स्वीकार्य नभएको भनाइ ।

५. शव आफन्तलाई बुझाइँदै : गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका ४४ जनाको शव आफन्तलाई बुझाइयो, पहिचानमा कठिनाइ भएकाको डीएनए परीक्षण गर्ने क्रम जारी ।

६. अस्पतालमा डाक्टरलाई प्रतिबन्ध : १८ महिने जीवित शिशुलाई मृत घोषित गरेको भन्दै विराटनगरस्थित कोशी अस्पतालका डाक्टर आकाश यादवसहित तीनजना स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाइयो, घटनाको छानबिनका लागि डा. प्रवीण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन ।

७. मुख्यमन्त्रीले पाए विश्वासको मत : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाए संसदबाट विश्वासको मत, नेकपा एसका १ र दुई जना स्वतन्त्रसहित ५८ जना सांसदले विश्वासको पक्षमा मतदान ।

८. चार दिनपछि भेटियो शव : कीर्तिपुरस्थित बागमती नदीमा कारसँगै खसेका राजकुमार खत्रीको शव चार दिनपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पार्‍यो, दुर्घटनास्थलबाट करिब एक सय मिटर तल शव फेला परेको सशस्त्र प्रहरीद्वारा जानकारी ।

९. आत्मदाहको प्रयास : काठमाडौंको सुन्धारास्थित सिभिल मलमा २९ वर्षीय विशाल लामिछानेद्वारा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास, तत्काल उद्दारपछि ट्रमा सेन्टरमा उपचार हुँदै ।

१०. लाइसेन्सहरू निलम्बन सिफारिस : उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठायो, सबैभन्दा धेरै २९ पटक नियम उल्लंघन ।

११. शेयर बजारमा सुधार : साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर २ हजार १७८.८१ विन्दुमा पुग्यो, ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको कारोबार ।

१२. अब मल पाउँछन् : किसानले समयमै मल पाउने कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहको दाबी, किसानको पीडामा मल्हम लगाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त ।

१३. हवाइ यात्रुको संख्यामा कमी : गत आइतबार पोखरामा भएको यति एयरको जहाज दुर्घटनाको प्रभावस्वरुप हवाइ यात्रा गर्नेको संख्या घट्यो, जहाज दुर्घटना भएकै दिनदेखि यात्रुको संख्यामा कमी आएको भरतपुर नागरिक उड्ययन कार्यालयको भनाइ ।

१४. ब्यारेकमा आगलागी : आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु, तीन जना गम्भीर घाइते ।

१५. नोभाक जोकोभिच फाइनलमा : सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको तेस्रो चरणमा प्रवेश, फ्रान्सका एन्जो कुवाकोड पराजित ।