
काठमाडौं, ५ माघ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले अब किसानले समयमै उखुको मूल्य पाउने बताएकी छिन् ।
आज बिहीबार राजधानीमा आयोजित साक्षातकार कार्यक्रममा उनले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै किसानलाइृ समयमै उखुको मूल्य दिन आफूले निर्देशन दिइसकेको जानकारी दिएकी हुन् ।
‘हामीले उखु ढुवानीको मूल्य प्रतिक्विन्टल २० रुपियाँ मूल्यवृद्धि गरेका छौं,’ साक्षातकार कार्यक्रममा मन्त्री साहले भनिन्, ‘किसानहरूले समयमै उखुको मूल्य पाउने गरी काम गर्न आवश्यक निर्देशन दिइसकेकी छु ।’ आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रूपैयाँबाट बढाएर ६१० रूपैयाँ पुर्याएको जानकारी पनि उनले दिएकी छिन् ।
‘मैले कृषि तथा पशुपक्षी मन्त्रालय सम्हालेको तीन दिन मात्र भयो । म स्वयम् किसानको छोरी हुँ । मलाई आम किसानका मर्म र पीडा थाहा छ । मेरो मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु हो,’ मन्त्री साहले भनिन् । कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उनले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिएकी छिन् ।
साथै मन्त्री साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको पनि बताइन् ।
यस्तै, दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने पनि मन्त्री साहले औंल्याइन् । ‘नेपालमा २५ मेट्रिक टन दूध उत्पादन हुन्छ । तर, त्यसलाई हामीले सही तरिकाले राख्न सकेका छैनौं । हामी दूधबाट दूध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गर्छौं । हामीले निर्यात गरेका छुर्पीलगायत वस्तु तेब्बर महँगो मूल्यमा फेरि खरिद गरेर प्रयोग र्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ,’ उनले भनिन् ।
कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम गर्नुपर्ने पनि कृषिमन्त्री साहको भनाइ छ । उनले भनिन्, ‘आम किसानले खर्च अनुसार उब्जनी पाएका छैनन् । प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र छ । त्यसैले आम किसान निराश छन् । अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउनुपर्छ ।’
वर्षेनी आठ लाख अब माटो परीक्षण गरी ब्लक छुट्याएर मात्र कृषिमा लगानी गर्नुपर्ने उनको भनाइ छ । साहले भनिन्, ‘वर्षेनी आठ लाख युवा बाहिर गइरहेका छन् । अब स्वदेशमै रोजगारी सिर्जना हुने गरी काम गर्न सरकार लागिरहेको छ ।’















प्रतिक्रिया