बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न, सदस्यता वितरण तत्काल खुला गर्न सुझाव

सुरेन्द्र इङ्नाम २०७९ माघ ३ गते २२:०६

लन्डन, ३ माघ । नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिका साधारणसभा सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार बेलायतको अल्डर्शटमा साधारण सभा सम्पन्न गरिएको हो ।

साधारण सभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरूले भौतिक एवम् भर्चुअल दुवै माध्यमबाट सहभागिता जनाएका थिए । त्यस अवसरमा शाखाका नीति तथा कार्यक्रमहरू सम्बन्धमा विभिन्न एजेन्डाहरू व्यापक छलफलपछि पारित गरिएको छ ।

साधारण सभाले महासचिव नरेन्द्र बस्नेतको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ । नेपालमा आइतबार भएको विमान दुर्घटनामा निधन हुने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाखाले एक शोक प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, साधारणसभाले नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तत्काल खुला गर्न कार्यसमितिलाई सुझाव दिने निर्णय गरेको छ । शाखाले परोपकारमुलक कार्यको लागि कोष संकलनार्थ यही वर्ष एक च्यारीटी कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरेको छ ।

महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश परियारले स्वागत र उपाध्यक्ष शिव भण्डारीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा शाखाका संस्थापक अध्यक्ष एवम् संरक्षक नवीन पोखरेल, पूर्व अध्यक्ष एवम् संरक्षक चिरन शर्मा, निवर्तमान अध्यक्ष एवम् संरक्षक नरेश खपांगीमगर, संरक्षकहरू विपिन निरौला, भगिरथ योगी र श्याम लुईटेल, संरक्षक एवम् केन्द्रीय प्रतिनिधि विमला सेने, केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला, महासंघ केन्द्रको अन्तर्राष्ट्रिय सम्वन्ध विभाग सदस्यहरू सञ्जयभक्त कंडेल र डा जगन कार्की, सल्लाहकार दूतबहादुर पुन, लिलामान शेरपुञ्जा र पूर्णबहादुर गुरुङको सहभागिता थियो ।

त्यस्तै, कार्यसमितिका सचिवहरू खेमराज रानाभाट र मञ्जु भन्डारी, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सदस्यहरू गोमा राना, जय तामाङ, बाचस्पति रेग्मी, बम थापा, साधारण सदस्यहरू जमुना पुन, जीवन सेन र पर्यवेक्षकका रूपमा पत्रकारहरू देवी गौतम र प्रकाश गुरुङ समेतले साधारणसभामा भाग लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित