२९ आश्विन २०८३, बिहिबार

८ सय बढी क्रसर उद्योग बन्द: आयोजनाको काम प्रभावित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगलाई नियन्त्रण गरेसँगै मुलुकभर नै निर्माण सामग्रीको चर्काे अभाव देखिएको छ । गृह मन्त्रालयले गत पुस २० गते ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गरेर अवैध क्रसर उद्योगलाई नियन्त्रण गर्न निर्देशन दिएको थियो ।

गृहले निर्देशन दिएपछि हालसम्म ८ सयभन्दा धेरै अवैध क्रसर उद्योगलाई बन्द गरिएको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गरेसँगै सम्बद्ध आयोजना प्रमुख र निर्माण व्यवसायीले पूर्वाधार निर्माणमा आवश्यक पर्ने निर्माण सामग्रीको चर्काे अभाव भएको दाबी गरेका छन् । पूर्वाधार निर्माणको मुख्य सिजनमा क्रसर तथा अन्य खानीबाट गिटी, रोडा, ढुंगालगायत निर्माण सामग्रीको अभावका कारण राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित भएको बताइएको छ ।

बालुवा अभावका कारण नागढुंगा सुरुङमार्ग निर्माणको काम पनि प्रभावित हुने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका डेपुटी प्रोजेक्ट डाइरेक्टर माधवप्रसाद अधिकारीले ठेकेदार कम्पनीले बालुवाको अभावका कारण नागढुंगा सुरुङमार्गको काम प्रभावित हुनसक्ने चेतावनी दिइसकेको बताए । ‘आयोजनासँग एक-दुई दिनलाई मात्र पुग्ने बालुवा स्टक रहेको छ,’ उनले भने, ‘अहिलेको अभाव केही दिनभित्रै सहज नभए काम रोकिने अवस्था सिर्जना हुने देखिन्छ ।’

प्रोजेक्टका डेपुटी डाइरेक्टर अधिकारीले बालुवा उपलब्ध नभएर काम रोकिएको खण्डमा जापानी निर्माण कम्पनीले आयोजनासँग दैनिक डेढ करोड रूपैयाँ दाबी गर्ने बताए । ‘हाम्रो कारणले आयोजनाको काम एक दिन रोकिएको खण्डमा ठेकेदार कम्पनीले दैनिक डेढ करोड रूपैयाँसम्मको दाबी गर्न सक्नेछन्,’ उनले भने, ‘बालुवा अभावकै कारण आयोजनाको काम रोकिए दैनिक डेढ करोड रूपैयाँभन्दा धेरै क्षतिपूर्ति तिर्नुपर्नेछ । त्यसैले पनि अहिलेको समस्या तुरुन्तै समाधान गर्न जरुरी छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।