सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २ गते २१:५८

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफललाई तीव्र पारेका छन् । यसैबीच, सोमबार प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच घण्टा लामो भेटवार्ता गरेका छन् ।

दुई शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको र सहमति जुटेको बताइएको छ । भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

यस्तै, आइतबार पोखरामा भएको यात्रु एयरको विमान दुर्घटनामा मृत्यु भएका ७० जनाको शव भेटिएको छ । ४ जना चालकदलका सदस्यसहित ७२ जना यात्रु सवार विमान आइतबार बिहान पोखराको सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो । दुई जनाको अवस्था अझै अज्ञात रहेको छ ।

उद्दारकर्मीहरुले दुई जनाको खोजी जारी राखेका छन् ।

हेरौँ सोमबार दिनभरका मुख्य मुख्य समाचारका हेडलाइनहरु-

१. पाँच घण्टा छलफलपछि सहमति : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा पाँच घण्टा लामो छलफल, मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डको भनाइ ।

२. ४३ वटा शव काठमाडौं ल्याइँदै : आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरूमध्ये चालक दलका चार जना सदस्यसहित ४३ जनाको शव भोलि काठमाडौं ल्याइँदै, शव ल्याउन नेपाली सेनाको हेलिकोप्टर आजै पोखरा पुग्यो ।

३. यतीको ब्ल्याकबक्स भेटियो : आइतबार पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको नाइन-एन-एएनसी एटीआर–७२ जहाजको ब्ल्याक बक्स फेला पर्यो, ७२ जनामध्ये ६९ जनाको मृत्यु पुष्टि ।

४. रास्वपालाई थप दुई मन्त्रालय : राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप दुई वटा मन्त्रालय दिने सत्ता गठबन्धन दलहरूबीच सहमति, स्वास्थ्य मन्त्रालय पाउने पक्का जस्तै, अर्को मन्त्रालयको टुंगो लाग्न बाँकी ।

५. लोसपाले छोड्यो कांग्रेसको साथ : कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा गएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने, एउटा मन्त्रालय पाउने सहमति ।

६. विमान दुर्घटनाको कारण के हो ? : पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले सुरू गर्यो काम, ४५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने समयसीमा ।

७. उपसभामुख बनिन् थापा : गण्डकी प्रदेशको उपसभामुखमा नेकपा एमालेकी बिना थापा निर्वाचित, थापाले ३२ मत पाउँदा प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी पार्वती तामाङलाई आफ्नै दलको २६ मत मात्रै ।

८. चापागाईँ उपसभामुख निर्वाचित : बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईँ निर्वाचित, ६१ मत पाएर चापागाईँ निर्वाचित हुँदा प्रतिस्पर्धी नेमकिपाकी गीता काफ्लेले पाइन् ३ मत ।

९. श्रद्दाञ्जली अर्पण गर्न दीप प्रज्ज्वलन : आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न युवाहरूद्वारा सोमबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन, शोकमा सार्वजनिक विदा दिएकामा भने असन्तुष्टि व्यक्त ।

१०. मन्त्री छान्ने जिम्मा सभापतिलाई : राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको छनौट गर्ने जिम्मा पार्टी सभापति रवि लामिछानेलाई, विज्ञता हेरेर छनौट गरिने सभापति लामिछानेको भनाइ ।

११. सभामुख निर्विरोध, उपसभामुखमा प्रतिस्पर्धा : लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित, उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाण, नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले गराए उम्मेदवारी दर्ता ।

१२. दुर्घटनामा मृत्यु : जुम्लाको पातारासी गाउँपालिका–२ कोटाको भीरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते, ग १ ज ४०३५ नम्बरको जीप दुर्घटना हुँदा पातारासी गाउँपालिका–१ माथाचौरकी ४२ वर्षीया छोर्तेन लामाको मृत्यु ।

१३. बढेर आयो इन्धनको मूल्य : इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पठायो इन्धनको नयाँ मूल्यसूची, नयाँ सूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर २ रूपैयाँ ५१ पैसा वृद्वि, डिजेलको मूल्य भने प्रतिलिटर ३ रूपैयाँ ७३ पैसाले घट्यो ।

१४. संयुक्त अभ्यास सुरू : जापान र भारतबीच रक्षा र सुरक्षा सम्बन्धलाई स्तरोन्नति गर्ने उद्देश्यले टोकियोनजिक पहिलो लडाकू जेट विमानको संयुक्त अभ्यास सुरू, एघार दिने संयुक्त अभ्यासमा आठ जापानी लडाकु विमान समावेश ।

१५. सुदूरको लगातार दोस्रो जित : इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित, गण्डकी प्रदेश ९ विकेटले पराजित ।

 

प्रतिक्रिया
सम्बन्धित