मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: यती एयरको जहाज दुर्घटना हुँदा ६९ जनाको निधन

दैनिक नेपाल २०७९ माघ १ गते २३:०६

काठमाडौं, १ माघ । आइतबार देश नै शोकमा डुब्यो । काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहान बिहानै पोखराको सेती खोँचमा दुर्घटनामा प¥यो ।

चालक दलका ४ जना सदस्यसहित ७२ जना लिएर काठमाडौंबाट पोखरा पुगेको यती एयरलाइन्सको नाइन–एन–ए.एन.सी ए.टी.आर.–७२ विमान पोखराको सेती खोँचमा दुर्घटनामा पर्दा ६९ जना मृत्यु भएको छ ।

तीन जनाको शव अझै भेटिन सकेको छैन । यसैबीच सरकारले जहाज दुर्घटनमा दु:ख व्यक्त गर्दै भोलि शोक बिदा दिने निर्णय गरेको छ ।

दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।

हेरौँ आइतबार दिनभरका मुख्य मुख्य समाचारका हेडलाइनहरु-

१. यती एयरको जहाज दुर्घटना : चालक दलका ४ जना सदस्यसहित ७२ जना लिएर काठमाडौंबाट पोखरा पुगेको यती एयरलाइन्सको नाइन–एन–ए.एन.सी ए.टी.आर.–७२ विमान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त, ६९ जना मृत्यु पुष्टि, मृतकको शव भोलि आफन्तलाई बुझाइने ।

२. भोलि शोक बिदा : पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भोलि शोक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय, छानबिनका लागि पाँच सदस्यीय आयोग गठन ।

३. राष्ट्रपतिद्वारा दुःख व्यक्त : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुःख व्यक्त, दुर्घटनामा जीवन गुमाउने यात्रु तथा चालक दलका सदस्यहरूप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट ।

४. मन्त्रिमण्डल विस्तार प्रभावित : पोखरामा भएको यति एयरको जहाज दुर्घटनापछि मन्त्रिपरिषद् विस्तार प्रभावित, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल ।

५. यतीका सबै उडान रद्द : नाइन–एन–ए.एन.सी–ए.टी.आर.–७२ विमान आइतबार पोखरामा दुर्घटनाग्रस्त भएपछि यती एयरलाइन्सले रद्द गर्यो भोलिका सबै उडान, आपतकालीन र उद्धारका उडान यथावत रहने ।

६. तीन देशद्वारा दुःख व्यक्त : पोखरामा आइतबार भएको यति एयरलाइन्सको जहाज दुर्घटनाप्रति अमेरिका, चीन र रुसद्वारा दुःख व्यक्त, दुर्घटनामा परी चार जना रसियन नागरिकले पनि गुमाए ज्यान ।

७. शव भोलि बुझाइने : पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव भोलि मृतकका परिवारलाई जिम्मा लगाइने, जलेर पहिचान हुन नसकेकाको डीएनए परीक्षण गर्ने तयारी ।

८. जहाजको प्राविधिक परीक्षण अनिवार्य : हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न वायु सेवा कम्पनीहरूलाई सरकारको निर्देशन, परीक्षण भए/नभएको अनुगमन गर्ने जिम्मा नागरिक उड्डयन प्राधिकरणलाई ।

९. जहाजको जाँचबुझ गरौँ : नेपालमा प्रयोग भइरहेका धेरैजसो जहाजहरू पुरानो रहेको र तिनै जहाजहरू दुर्घटनामा पर्ने गरेको भन्दै त्यस्ता जहाजको जाँचबुझ गर्न राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई आग्रह, पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त ।

१०. नन्दा बनिन् सभामुख : कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित, नवनिर्वाचित सभामुख गुरुरूले आजै प्रदेश प्रमुख तिलक परियारबाट ग्रहण गरिन् पद तथा गोपनीयताको सपथ ।

११. जहाज दुर्घटनामा पत्रकार र गायिकाको निधन : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र लोकदोहारी गायिका निरा छन्त्यालको पनि मृत्यु, संयोगले बाँचे गायक पशुपति शर्मा ।

१२. आगलागीबाट लाखौँको क्षति : झापाको दमक नगरपालिका–६ स्थित नमूना बजारमा रहेका नौ वटा पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति, आगलागी तीन घण्टापछि नियन्त्रण ।

१३. निरन्तर बढ्दै सुनको मूल्य : नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी, आइतबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय तथा चाँदी प्रतितोला एक हजार ३९० रूपैयाँमा कारोबार ।

१४. युक्रेनलाइृ बेलायतको सहयोग : बेलायतले आगामी केही हप्तामा युक्रेनलाई दर्जनभन्दा बढी ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने, बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई टेलिफोन गरी सहयोगबारे गराए जानकारी ।

१५. मधेशको पहिलो जित : इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी प्रतियोगितामा मधेश प्रदेशले निकाल्यो पहिलो जित, कर्णाली प्रदेश ८ विकेटले पराजित ।

प्रतिक्रिया
सम्बन्धित