१ कार्तिक २०८३, आइतबार

गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले लिए शपथ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । गण्डकी प्रदेशका सभामुखमा कृष्णप्रसाद धितालले शपथ लिएका छन्।

प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नै निवास सिमलचौरमा एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो। सभामुखमा निर्वाचित धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुन्।

शनिबार सम्पन्न निर्वाचनमा सभामुख धितालले ३२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २६ मत खसेको थियो। नेकपा (माओवादी केन्द्र) का फणिन्द्र देवकोटाको प्रस्ताव र नेकपा (एमाले) का रोशन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गरेका थिए।

धिताललाई सभामुख बनाउने पक्षमा सत्तारूढ एमालेका २१, माओवादी केन्द्रका आठ र राप्रपाका दुई र एक स्वतन्त्र सदस्यले मतदान गरेका थिए। विपक्षमा भने नेपाली कांग्रेसका २६ जनाले मतदान गरेका थिए। ६० सदस्यीय गण्डकी प्रदेशसभामा बैठकको अध्यक्षता गरेका मित्रलाल बस्यालले मतदानमा भाग लिन पाएनन्।

सभामुखमा नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी पनि उम्मेदवार थिइन्। उनले २६ मत प्राप्त गरिन्।