
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट अध्यधिक विश्वासको मत पाएका छन् । प्रचण्डले ९९ प्रतिशत मत पाएका हुन् ।
बैठकमा उपस्थित २ सय ७० जना सांसदमध्ये १ सय ६८ जनाले प्रचण्डलाई विश्वासको मत दिएका हुन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मात्रै विपक्षमा मतदान गरे ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले मुलुकमा देखिएको वर्तमान आर्थिक सङ्कट समाधान गर्न दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक रहेको बताएका छन् ।
मंगलबार विश्वासको मत लिनुअघि प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रचण्डले देश विकास र जनताका चाहाना पूरा गर्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।
हेरौँ मंगलबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु–
१. प्रधानमन्त्रीले पाए अत्यधिक विश्वासको मत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट पाए अत्यधिक विश्वासको मत, उपस्थित २७० सांसदमध्ये १६८ जना प्रस्तावको पक्षमा उभिदा चित्रबहादुर केसी र प्रेम सुवालको मत विपक्षमा ।
२. कर्णाली समृद्व छ : कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवद्र्धनको ठोस कार्यक्रम ल्याएर कार्यान्वयन गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिने धारणा व्यक्त ।
३. सहकार्यमा प्रधानमन्त्रीको जोड : मुलुकमा देखिएको वर्तमान आर्थिक सङ्कट समाधान गर्न दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक रहेको प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’को भनाई, कानुनका छिद्र देखाउने, काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट दिने काम यो सरकारलाई स्वीकार्य नभएको स्पष्टोक्ति ।
४. प्रधानमन्त्रीमाथि कांग्रेसको पनि विश्वास : लोकतान्त्रिक व्यवस्था कमजोर हुन नदिन र संविधानलाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको काँग्रेस सभापति शेरबहादुर देउवाको भनाइ, विश्वासको मत दिएर कांग्रेस जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहने जानकारी ।
५. षडयन्त्र हो भने कांग्रेस सफल हुँदैन : षडयन्त्रका साथ कांग्रेसले सरकारलाई समर्थन गरेको भए सफल नहुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई, सरकारले अघि सारेका कार्यक्रम र प्रतिवद्धता पूरा गर्न कठिन रहे पनि पूरा गरेरै छोड्ने दाबी ।
६. देउवाले संसद विघटन गर्दा ‘असोज १८ र माघ १९’मा पुग्यो : संसद विघटनका विषयमा आफू अनुकुल व्याख्या नगर्न र आफूले गरेको कामको समीक्षा गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सुझाव, कांग्रेसले ०५१ र देउवा स्वयम्ले ०५८ सालमा संसद विघटन गरेको घटनाको गराए स्मरण ।
७. को बन्ला सभामुख ? : संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले तोके सभामुखको निर्वाचनका लागि मिति, निर्वाचन माघ ५ गते गर्ने निर्णय ।
८. सरकारलाई सफल बनाउन जोड : नयाँ जनादेशका आधारमा गठन भएको वर्तमान सरकारलाई सफल पार्नेबाहेक अर्को विकल्प नभएको नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाइ, यो कार्यकालमा प्रधानमन्त्री प्रचण्डले केही काम गरेर देखाउन चाहेकाले सरकारलाई सफल बनाउन अधिकतम कोशिश गर्नुपर्नेमाजोड ।
९. मन्त्रालयको संख्या घटाइने : मन्त्रालयको संख्या घटाएर ११ बनाउने बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय, नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई सरकारको प्रवक्ताको जिम्मेवारी ।
१०. खतरनाक सङ्केत : संसद विघटन गठबन्धनको मान्यता भए त्यसले खतरनाक सङ्केत दिने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाई, यसअघि भएका संसद विघटन प्रतिगमन नै भएको ठोकुवा ।
११. केसी असन्तुष्ट : काँग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी असन्तुष्ट, बलियो प्रतिपक्षी नभए सरकार निरंकुश हुने भन्दै चिन्ता व्यक्त ।
१२. निषेधित क्षेत्रमा हेलिकोप्टर छिरेपछि… : संखुवासभाको निषेधित क्षेत्रमा प्रवेश गरेपछि अल्टिच्युट एयरको हेलिकप्टरसहित पाइलटलाई प्रहरीले १ घण्टा नियन्त्रणमा लिएर छाड्यो, पाइलट आनन्द थापालाई कारबाहीका लागि गृहमन्त्रालयलाई पत्राचार ।
१३. ¥याली आइपुग्यो : नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै नेपाली सेनाले सुरू गरेको ‘एकीकरण टर्च ¥याली काठमाडौँ आइपुग्यो, भोलि विशेष कार्यक्रम आयोजना गरिदै ।
१४. राष्ट्रपतीय निर्वाचनको विरोध : ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको प्रदर्शनमा सहभागी कम्तीमा पनि एक हजार दुई सय जना पक्राउ, राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणापछि सोमबार व्यापक मात्रामा तोडफोड ।
१५. विराटनगर फाइनलमा : काठमाडौंमा जारी नेपाल टी–ट्वेन्टी लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश, जनकपुर रोयल्स ३९ रनले पराजित ।













प्रतिक्रिया