
काठमाडौं, २५ पुस । प्रतिनिधि सभाको पहिलो बैठक सोमबार बसेको छ ।
संसदको पहिलो बैठकका दिन १२ दलका शीर्ष नेताहरुले सम्बोधन गरे । पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आर्थिक समृद्विमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।
मुलुकलाई अघि बढाउन राजनीतिक दलहरूले उत्तेजना छोडेर समझदारीमा आउनुपर्नेमा प्रचण्डले जोड दिएका छन् । यस्तै बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्ने बताए ।
देश विकासका लागि राष्ट्रिय एकता आवश्यक रहेको भन्दै ओलीले सरकार ढाल्ने खेलमा लाग्न नहुने बताए । अहिलेको सरकार जनताले बनाएको सरकार भएको भन्दै ओलीले बिगार्ने खेलमा लाग्दा समय खेर मात्रै जाने बताए ।
हेरौँ सोमबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु–
१. आर्थिक समृद्विमा केन्द्रित होऔँ : राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, मुलुकलाई अघि बढाउन राजनीतिक दलहरूले उत्तेजना छोडेर समझदारीमा आउनुपर्नेमा जोड ।
२. न्यूनतम साझा कार्यक्रम सार्वजनिक : सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट भएको अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी भूमिका खेल्ने उल्लेख ।
३. राष्ट्रिय एकता आवश्यक : देश र जनताका लागि काम गर्न राष्ट्रिय एकता आवश्यक भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, बन्न नपाई सरकार बिगार्ने खेलमा लाग्दा समय खेर जाने तर्क ।
४. नागरिकको समस्यामा सरकारको चासो : सरकारको पहलमा मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार, पहिलो चरणमा भोलि ६ जना नेपाल आउँदै ।
५. हामीलाई आशाको मत : मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको मत भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाइ, कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकारले निर्मम भएर छानबिन गर्ने प्रतिबद्धता व्यक्त ।
६. जनताले सरकारको अनुभूति गर्न पाउन् : परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढाउन सरकारलाई नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको सुझाव, सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको धारणा ।
७. राप्रपा अस्थिरताको कारक बन्दैन : आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ, जनताले दिएको मत हेर्दा कुनै राजनीतिक दललाई पूर्ण रूपमा विश्वास गर्न नसकेको धारणा ।
८. प्रधानमन्त्रीलाई जसपाको विश्वास : जनता समाजवादी पार्टीद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय, मत दिन सांसदहरूलाई ह्विप लगाउने तयारी ।
९. मुख्यमन्त्री नियुक्तिसँगै सपथ पनि : आजै नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिए पद तथा गोपनीयताको सपथ, पहिलो चरणमा सीता सुन्दास, हरिबहादुर चुमान र पञ्चराम गुरुङ बने विनाविभागीय मन्त्री ।
१०. बागमतीको मुख्यमन्त्रीमा जमरकट्टेल : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल नियुक्त, सपथ कार्यक्रम भोलि हुँदै ।
११. बढ्यो नेप्से : सोमबार नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम, पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ रूपैयाँ बराबरको शेयर कारोबार ।
१२. घट्यो हवाई भाडा… : हवाई इन्धनको मूल्य घटेसँगै भाडा पनि घट्यो, आन्तरिक उडानतर्फ न्यूनतम एक सयदेखि अधिकतम ८८५ रूपैयाँसम्म घट्यो भाडा ।
१३. सुनको मूल्य बढेको बढ्यै : नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले बनायोे यो वर्षको नयाँ रेकर्ड, ६ सय रूपैयाँले बढेको छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख हजार ४ सय रूपैयाँमा कारोबार ।
१४. बन्दुकधारीले गरे अपहरण : बन्दुकधारीहरूबाट नाइजेरियामा ३० जनाभन्दा बढी व्यक्ति अपहरित, सुरक्षाकर्मीद्वारा उद्दारको प्रयास जारी ।
१५. आर्मी क्वार्टरफाइनलमा : सातौं एनभीए पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनशीपमा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश, मणिमुकुन्द भलिबल क्लबमाथि २५–११, २५–२० र २५–१४ को सेटमा विजय हासिल ।













प्रतिक्रिया