२९ आश्विन २०८३, बिहिबार

इन्धनमा उच्च नाफा उपभोक्ता मारमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन् । पुरानो ऋण र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तिर्नुपर्ने बक्यौता देखाउँदै निगमले पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य नघटाउँदा उपभोक्ता महँगोमा इन्धन प्रयोग गर्न बाध्य छन् । निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा ९९ रूपैयाँ ५३ पैसा र आन्तरिकतर्फ ४८ रूपैयाँ ८१ पैसा नाफा राखेर बिक्री गरिरहेको छ । त्यसैगरी निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ ६६ पैसा र डिजेलमा ७ रूपैयाँ १८ पैसा नाफा छ। उपभोक्ताको ढाड सेक्ने गरी धेरै नाफा राखेर निगमले इन्धन बिक्री गरिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । ‘निगमले विगतको ऋण देखाएर अहिले सस्तोमा इन्धन खरिद गर्दा पनि महँगोमा बिक्री गरिरहेको छ,’ उनले भने, ‘तुरुन्त मूल्य घटाउनुपर्छ ।’

निगमलाई १५ दिनमा करिब ९९ करोड रूपैयाँ नाफा भएको छ । निगमले पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन । पछिल्लोपटक आइओसीबाट पेट्रोल २ रूपैयाँ ५४ पैसा, डिजेल २ रूपैयाँ ९५ पैसा, हवाई इन्धन ४ रूपैयाँ १३ पैसा प्रतिलिटर र ग्यास ७८ रूपैयाँ २२ पैसा प्रतिसिलिन्डर मूल्य बढेर आउँदा पनि निगम नाफामा छ । निगमले धेरै नाफा राखेर इन्धन बिक्री गरेको दाबीसहित कालोबजारी ऐन अन्तर्गत कारबाही गर्न उपभोक्तावादी संघसंस्थाले माग गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चले आयल निगम सञ्चालक समितिका पदाधिकारीहरूविरुद्ध प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएको छ ।

निगमले २० प्रतिशतभन्दा बढी नाफा राखेर इन्धनमा कालोबजारी गरेको मञ्चको आरोप छ । मञ्चका सचिव जयप्रसाद पौडेलले दर्ता गरेको जाहेरीमा कारबाहीसहित मूल्य घटाउन माग गरिएको छ । निगमले अझै १८ अर्ब बक्यौता र ऋण तिर्न बाँकी रहेको भन्दै मूल्य घटाउन आनाकानी गर्दै आएको छ । निगमले आइओसीलाई तिर्न बक्यौता ११ अर्ब रूपैयाँ र सरकारलाई ७ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी रहेको जनाएको छ ।

आइओसीबाट ८५ रूपैयाँ ३५ पैसा प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा निगमको लागत १६३ रूपैयाँ ३४ पैसा पर्छ । निगमले पेट्रोल अहिले १७८ रूपैयाँमा बिक्री गरिरहेको छ। त्यसैगरी खरिद मूल्य, सम्पूर्ण करसहित १६७ रूपैयाँ ८२ पैसा लागत रहेको डिजेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री गर्दै आएको छ । खाना पकाउने एलपी ग्यासमा भने निगमले घाटा बेहोर्दै आएको छ। १४ सय ९५ रूपैयाँ ९९ पैसा प्रतिसिलिन्डर खरिद गरिरहेको ग्यास प्रतिसिलिन्डर करसहित १८ सय रूपैयाँ बिक्री गरिरहेको छ ।

ग्यासमा निगमलाई प्रतिसिलिन्डर ३५९ रूपैयाँ ५० रूपैयाँ घाटा रहेको छ । १४१ रूपैयाँ १९ पैसामा खरिद गरेको इन्धन आन्तरिक हवाई कम्पनीहरूलाई १९० रूपैयाँमा र ११७ रूपैयाँ ७१ पैसामा किनेको इन्धन अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई २१७ रूपैयाँ २४ पैसामा बिक्री गरिरहेको छ । आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि निगमले मूल्य समायोजन नगरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले गत बिहीबार नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई मूल्य घटाउन निर्देशन दिएका थिए । निगमले चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म निगमले निरन्तर नोक्सानी बेहोरेको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेपछि कात्तिकपछि निगम नाफा गएको छ । आजको नागरिक दैनिकमा खबर छ ।