२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि गठित कार्यदलले आज मस्यौदा शीर्ष तहलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले मस्यौदा बुझाएका हुन् । मस्यौदामा सरकारलाई प्रभावकारी बनाउन प्राथमिकता निर्धारण तथा सामाजिक न्याय, सुशासन र समृद्धिका विषयहरू समेटिएको बताइएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा संघीय शिक्षा ऐनलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताएका हुन् ।

हेरौँ दिनभरका मुख्य मुख्य समाचारका हेडलाइनहरु–

१. साझा बसमा राष्ट्रपति : साझाको विद्युतीय बस चढेर राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको पाटन ढोका पुगिन्, सांगीतिक कार्यक्रममा सहभागी हुनाका साथै मदन पुस्तकालयको अवलोकन ।

२. कस्तो बन्यो न्यूनतम साझा कार्यक्रम ? : सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण गर्न गठित कार्यदलले गठबन्धनका शीर्ष नेताहरूलाई बुझायो प्रतिवेदन, सरकारलाई प्रभावकारी बनाउन प्राथमिकता निर्धारण तथा सामाजिक न्याय, सुशासन र समृद्धिका विषयहरू समेटिएको जानकारी ।

३. संघीय शिक्षा ऐन प्राथमिकतामा : सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाई, देशभरका शिक्षकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न शिक्षक अस्पताल निर्माणको काम आफूहरूको पालामै अगाडि बढाइएको दाबी ।

४. संसदमा रिसाहा र उदण्ड हुनुहुँदैन : नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीद्वारा जनताले मन पराउने काम र व्यवहारमात्र गर्न आफ्ना सांसदहरूलाई निर्देशन, संसदमा प्रस्तुत हुँदा उद्दण्ड र रिसाहा नभई तर्क र तथ्यसहित बोल्नुपर्नेमा जोड ।

५. कांग्रेसलाई असफल पारिन्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत पुग्न नदिने कांग्रेसको प्रयासलाई सफल हुन नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, पाँच वर्ष कांग्रेसको धन्दा सरकार ढाल्नेमै केन्द्रित हुने टिप्पणी ।

६. प्रभावकारी भूमिका देखियोस् : प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन कांग्रेसका सांसदहरूलाई सभापति शेरबहादुर देउवाको निर्देशन, गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाउने कांग्रेसको कुनै तयारी नरहेको जानकारी ।

७. कांग्रेस दोषी : वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको आरोप, कांग्रेस विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको टिप्पणी ।

८. अवैध उद्योग बन्द : काभ्रेमा सञ्चालित नदीजन्य र खानीजन्य उद्योग बन्द, प्रचलित कानुनविपरीत उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न क्रसर तथा खानी उद्योग बन्द गराउने निर्णय ।

९. माओवादी पनि वाम एकता पक्षमा : वाम एकताका लागि माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा गठन गर्यो कार्यदल, कार्यदलमा महरासँगै महासचिव देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य ।

१०. प्रचण्डलाई विश्वासको मत दिन्छौँ : जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने, राष्ट्रिय एकता दिवसको दिन बिदा दिने विषयमा भने असहमति प्रकट ।

११. बढ्यो कोरोनाको त्रास : नेपालमा शनिबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, हालसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना पुग्यो, शनिबार तीन जना संक्रमित थपिदा दुई जना संक्रमणमुक्त ।

१२. तुइनबाट खसेर बेपत्ता : दार्चुलाको व्यास गाउँपालिका–४ डोकटमा तुइनबाट महाकाली नदीमा खसेर एक बालक बेपत्ता, बेपत्ता हुनेमा वडा नम्बर–४ कै १० वर्षीय बालक दीपेन्द्र विष्ट ।

१३. जबरजस्ती करणी प्रयास : रूपन्देहीमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा दुई जना पक्राउ, पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–३ का ३० वर्षीय राजेन्द्र अधिकारी र सैनामैना नगरपालिका–६ का मधु सोमरे ।

१४. सदनले बल्ल पायो सभामुख : १५औँ चरणको मतदानपछि अमेरिकामा सभामुख निर्वाचित, रिपब्लिकन पार्टीका केभिन म्याकार्थी बने नयाँ सभामुख ।

१५. संकटाले जित्यो उपाधि : २२औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि सङ्कटा क्लबलाई, अमेरिकाको भुटनीज युथ सकर क्लब अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित । नेपाल टी–ट्वेन्टी लिगमा विराटनगर सुपर किङ्ग्स प्लेअफमा प्रवेश ।