
सिन्धुपाल्चोक, १६ पुस । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गरे ।
इन्द्रावती गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष झम्क नेपालले जानकारी दिए । गाउँठाउँकै अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन् ।
आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै इन्द्रावती गाउँपालिकाका सर्वसाधारणलाई आँखाको सामान्य जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको नेपालले बताए । अस्पताल सञ्चालनमा आएसँगै स्थानीयको आर्थिक भारसमेत कम हुने भएको छ ।
आवश्यकता र स्रोतले भ्याएसम्म स्वास्थ्य सेवालाई सहज बनाउने नेपालले प्रतिबद्धता व्यक्त गरे । पहिला चौतारा, मेलम्ची तथा काठमाडौं जान बाध्यता रहेको अब सहज हुने नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभडेँलले बताए ।















प्रतिक्रिया