
काठमाडौं, १४ पुस । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेलसँग आज गरेको भेटवार्ताका क्रममा मन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका लागि आफूले पहल सुरू गरिरहेको बताएका हुन् ।
भेटमा पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पूँजी कर्जासम्बन्धी मार्गनिर्देशनको स्थगनलगायत विषयमा चेम्बरले अर्थमन्त्री ध्यानाकर्षण गराएको छ ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भन्सारको सहजीकरण गरेर राजस्वको दायरा फराकिलो बनाउनुपर्ने, वस्तुहरूको आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए । ‘भन्सार प्रक्रियामा सन्दर्भ मूल्य कायम हुँदा यसले राजस्व प्रभावित भएको छ । अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ । सरकारको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ ।’
अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गरे । नेपाल राष्ट्र बैंकबाट हालै जारी भएको ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ ले विद्यमान तरलता अभावको परिस्थितिमा व्यावसायिक क्षेत्रमा थप असहज परिस्थितिमा सिर्जना गरेकाले सो मार्गदर्शन स्थगित गर्नुपर्ने चेम्बरको माग छ ।
चेम्बरले उठाएको माग सम्बन्धमा आफू गम्भीर भएको अर्थमन्त्री पौडेलले बताएका छन् ।















प्रतिक्रिया