३१ आश्विन २०८३, शनिबार

डीएसपी ठगबहादुर निलम्बित, अनुसन्धान जारी रहने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ ।

नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ गरेको थियो ।

सुरुमा ब्यूरोले बुटबलका खिलेन्द्र सिंह जिसीलाई एक रिसोर्टबाट रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुन जस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

उनीमाथि गरिएको अनुसन्धानका क्रममा उक्त घटनामा स्थानीय व्यवसायी किसन विक र डीएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो । उनको घरमा खानतलासी गर्दा नगद रू. आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सीआईबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

सीआईबीको टोलीले सोही दिन नै बरामद भएको रकम, सुन जस्तो देखिने पहँेलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको थियो । प्रहरीले उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।