२९ आश्विन २०८३, बिहिबार

राहतकै पर्खाइमा छन् पहिरोपीडित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट, १० पुस । तिलागुफा ४ राँचुलीकी ४६ वर्षीया सीता शाहीको घर गत असोज पहिरोका कारण भत्किएपछि छिमेकीका घरमा ओत लाग्दै आएकी छन् । यसअघि उनी होटल सञ्चालन गरेर गुजारा चलाउँदै आएकी थिइन् । अहिले उनी मागेर गुजारा चलाइरहेकी छन् ।

दुई सन्तानसहित छिमेकी कृष्णबहादुर शाहीका घरमा बस्दै आएकी उनको खेतबारी पनि पहिरोले बगायो । उनको घरजग्गा केही बाँकी रहेन । उनले भनिन्, ‘बाँच्नै कठिन छ । पति रनबहादुर शाही तीन वर्षदेखि घर आएका छैनन् ।’ कर्णाली राजमार्गछेउको राँचुली बजारमा रहेको घर पहिरोले लगेपछि बिचल्ली भएको उनको गुनासो छ ।

उनको परिवारले कात्तिक महिनामा सहयात्रा परियोजनामार्फत एक बोरा चामल, ५ केजी दाल, ५ पाकेट तेल, २ पाकेट नुन पाएपछि गुजारा चलाउँदै आएकी थिइन् । यसपटक थप सहयोग पाएपछि उनी खुसी छन् । मंसिर ९ मा स्टार्ट फन्ड नेटवर्कको सहयोगमा वल्र्डभिजन र किर्डाक नेपालले १३ हजार ५ सय मूल्यको ४ बोरा चामल, २० केजी दाल, १० पाकेट खाने तेल, ५ केजी चिनीसहितको खाद्य सामग्री दिएको छ । ‘यो राहतले त तीन महिनालाई पुग्छ’, उनले भनिन्, ‘घर बनाइदिने भनिएको छ, तर काम सुरु भएको छैन ।’ यो हिउँदको चिसो कसरी कटाउने भन्ने उनमा चिन्ता छ । ‘खाना त दाताले दिए’, सीताले भनिन्, ‘बास सरकारले दिए हुन्थ्यो ।’

आठजनाको परिवार भएकी अप्सरा शाहीको घर पनि पहिरोका कारण भत्किँदा बिचल्ली भएको छ । स्थानीय भन्दरी शाहीका घरमा बस्दै आएको उनको परिवारले पनि स्टार्ट फन्डको सहयोगमा १३ हजार ५ सय रूपैयाँबराबरको खाद्यान्न सहयोग पाएको छ ।

यहाँको तिलागुफा–४ राँचुलीमा असोज १९ देखिको अविरल वर्षाका कारण आएको पहिरोले राँचुली बजारका घरसहित मलामी गएका १३ जनाको एकैपटक मृत्यु भएको थियो । एकजनाको शव भेटिए पनि १२ जना अझै बेपत्ता छन् । त्यतिबेला पहिरोले कालिकोटमा मात्र २३ जनाले ज्यान गुमाए भने सयौं परिवार घरवारविहीन बने । यहाँको तिलागुफा र खाँडाचक्रका पहिरोपीडित तीन सय ४० परिवारलाई दाताको सहयोगमा प्रति परिवार १३ हजार ५ सय रूपैयाँबराबरको खाद्यान्न सहयोग भएको कालिकोटका प्रजिअ रामहरि शर्माले बताए । उनले भने, ‘कालिकोटको इतिहासमा कहिल्यै नभएको क्षति यसपटकको वर्षाले पु¥याएको छ ।’

स्थानीय बजारबाट दरभाउ संकलन गरेर पीडित परिवारलाई आवश्यक खाद्यान्न उपलब्ध गराइएको किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले सुनाए । उनका अुसार प्रतिपरिवार १३ हजार ५ सय मूल्यको खाद्यान्न, ननफुड आइटम, ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिका र सुनौला हजार दिनका आमालाई पोसिलो खाना र किशोरीलाई सरसफाइ तथा स्वच्छता किट पनि वितरण गरिएको थियो । उनले पहिरोले कर्णालीका कालिकोट, जुम्ला र मुगुमा बढी क्षति पुर्‍याएकाले जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा सहयोग गरिएको जानकारी दिए ।

पहिरोपीडितलाई तत्काल सहयोग गर्न पहल भए पनि दसैंतिहारजस्ता चाड, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण केही ढिलो भएको थियो तर पनि पीडितका घरसम्म राहत पुगेको तिलागुफाका नगर प्रमुख शंकर उपाध्यायले बताए । आजको नागरिक दैनिकमा खबर छ ।