
काठमाडौं, ९ पुस । शनिबार दलका नेताहरू सरकार गठन र शक्ति बाँडफाँटसम्बन्धी छलफल र भेटघाटमा व्यस्त रहे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि आइतबार साँझ ५ बजेसम्मको समयसीमा तोकेर बहुमतबाट प्रधानमन्त्री बन्ने व्यक्तिको नाम दिन दलहरूलाई आग्रह गरेबमोजिम सक्रियता बढेको हो । तर, दलहरूले नाम टुङ्ग्याउने विषयमा कुनै सहमति जुटाउन भने सकेका छैनन् ।
खासगरी पाँच दलीय गठबन्धनभित्र चरम विवाद हुँदा दलहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखलगायत पदको बाँडफाँटमा असफल हुँदै आएका छन् । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरूबीच यही गतिविधि जारी रहे र अस्थिरता बढिरहे मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने अभिव्यक्ति दिएका छन् ।
यिनै सेरोफेरोमा रहेर हेरौँ आजका मुख्य–मुख्य हेडलाइनहरू–
१. मध्यावधितिर देश ! : मंसिर ४ को निर्वाचनले देशका लागि सुखद परिणाम नदिएकाले मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्लेषण, दलहरू दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नपर्नेमा जोड ।
२. ज्येष्ठ नागरिकलाई विशेषज्ञ उपचार सेवा : स्वास्थ्य प्रणालीमा ज्येष्ठ नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, प्रदेशैपिच्छे ज्येष्ठ नागरिकलाई विशेषज्ञ उपचार सेवा प्रदान गर्ने आश्वासन ।
३. प्रधानमन्त्री बन्ने प्रचण्डको सम्भावना सकियो ! : समयमै निर्णय लिन नसक्दा प्रधानमन्त्री बन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्भावना न्यून बन्दै गएको एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, एमालेको गन्तव्य सरकार नभइ ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्नु रहेको भनाइ ।
४. कोरोनाको त्रास बढ्यो : कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको आग्रह, छिमेकी मुलुक चीनमा कोरोनाले तीव्र रुप लिदै गएको भन्दै बुस्टर डोज लगाइहाल्न सुझाव ।
५. नेपाली दूतावासको रकम लुटियो : टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरमा नेपाली दूतावासले सञ्चालन गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’हरु लुटपाट, ‘मनी अर्डर’ वा ‘क्यासियर चेक’ रद्द गर्न सेवाग्राहीलाई अनुरोध ।
६. पौडेलको दौडधुपलाई प्रचण्डले पारे निराश : राष्ट्रपति हुने चर्चासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बढाए सक्रियता, समर्थन जुटाउन खुमलटार पुगेका पौडेललाई प्रचण्डले दिए गठबन्धन भत्किने चेतावनी, निराश बनेर फर्किए ।
७. नेताको काम आसन ग्रहण गर्ने होइन : नेकपा एमाले अधिकांश कमिटीहरू लम्बेतान र आसन ग्रहणको माध्यममात्रै बनेकाले पुनर्संरचना गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन, नेताको काम आसन ग्रहण गर्ने नभइ जनता र कार्यकर्ताकोबीचमा जानुपर्नेमा जोड ।
८. गठबन्धन टुटे सम्वाद गर्न तयार छौँ : वर्तमान गठबन्धन नटुटेसम्म नेकपा एमाले नयाँ सरकार निर्माणको प्रक्रियामा सहभागी नहुने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको धारणा, गठबन्धन तोडेर आए दलहरूसँग सम्वाद गर्न सकिने भनाइ ।
९. गठबन्धनको सरकार बन्न समस्या छैन : आगामी सरकार गठबन्धनकै बन्ने नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीको भनाई, प्रधानमन्त्रीको टुंगो भोलि लाग्ने भन्दै गठबन्धनमा कुनै विवाद नरहेको दाबी ।
१०. गठबन्धनकको सरकार, कांग्रेसको नेतृत्व : सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने कांग्रेसभित्र महिला सांसदहरूको तीव्र दबाब, गठबन्धनको सरकार र कांग्रेसकै नेतृत्व हुनुपर्नेमा जोड ।
११. नेवार समुदायको समर्थन : काठमाडौंका अनधिकृत बस्ती हटाउने काठमाडौं महानगरपालिकाको अभियानप्रति स्थानीय नेवार समुदायका विभिन्न समाज र समितिको ऐक्यबद्धता, अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको भनाइ ।
१२. लेखा समूहका कर्मचारीको सरुवा : महालेखा नियन्त्रक कार्यालयले गर्यो लेखा समूहका करिब ४०० जना कर्मचारीको सरुवा, ४७ जना उपसचिव र ११७ जना शाखा अधिकृत तथा २२५ जना लेखापालको सरुवा गरिएको जानकारी ।
१३. को बन्ला दलको नेता ? : नेकपा एमालेले प्रदेश १ मा आइतबार दलको नेता छान्दै, एमाले संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई छान्ने सम्भावना ।
१४. अन्तिम फैसला आउँदै : म्यान्मारको जुन्ता सरकारको नियन्त्रणमा रहेको अदालतले आङ सान सुकीको १८ महिना लामो सुनुवाइको अन्तिम फैसला अर्को हप्ता सुनाउँदै, सामाजिक तनाव कम गर्न र सशस्त्र प्रतिरोध रोक्नका लागि सैन्य शासनले सुकीको भूमिकालाई आवश्यक देखेको चर्चा ।
१५. क्रिकेट लिग सुरू : नेपाल टी–२० क्रिकेट लिग सुरू, पहिलो खेलमा काठमाडौं नाइट्स र दोस्रो खेलमा लुम्बिनी अल स्टार्स विजयी, लिगअन्तर्गत भोलि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्स तथा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै ।















प्रतिक्रिया