२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीमै लफडा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दावी नगर्न नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आलोपालो प्रधानमन्त्री हुने र दोस्रो कार्यकाल प्रचण्डलाई छोड्नेगरी सर्त अघि सारेका छन् । तर, प्रचण्डले भने ‘पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुनुपर्ने’ पुरानै अडान दोहोर्‍यापछि कुरा मिल्न नसकेको स्रोत बताउँछ । पछिल्ला केही दिनदेखि देउवा र प्रचण्डबीच प्रधानमन्त्री विषयमा लगातार छलफल जारी रहे पनि ‘पहिलो कार्यकाल को प्रधानमन्त्री हुने ?’ भन्नेमा विवाद हुँदै आएको छ । सोही कारण ‘प्रधानमन्त्री’ विषय पेचिलो बन्दै गएको छ ।

संसदीय दलको नेता निर्वाचित भएकोमा ‘बधाई’ दिन बिहीबार बालुवाटार पुगेका नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा समेत कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अहिले कांग्रेसले प्रधानमन्त्री छाड्न सक्ने अवस्था नरहेकाले प्रचण्डलाई सम्झाइदिन’ आग्रह गरेका थिए । प्रचण्ड भने निकटस्थसँग ‘प्रधानमन्त्री नपाए गठबन्धन नै तोडिन सक्ने’ भन्दै देउवालाई गलाउन खोजिरहेको बताइन्छ । कांग्रेस उच्चस्रोतका अनुसार देउवाले दोस्रो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई दिन आफू तयार रहेको र ‘अहिले आफ्नो बाध्यता बुझिदिन’ भन्दै भट्टराईसँग प्रचण्डलाई सन्देश पठाएका थिए । पहिलो दुई वर्ष नभई पछिल्लो तीन वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिन तयार रहेको जनाउ देउवाले दिएका थिए ।

सो कुरा प्रचण्डकहाँ पुगिसकेको तर उनले ‘आफू जुनसुकै उपाय लगाएर भए पनि प्रधानमन्त्री बन्ने’ भन्दै देउवालाई मनाउन आफैं बालुवाटार नियमित आउजाउ गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफैंले गर्नुपर्नेमा सबै कांग्रेसका नेता तथा सांसद एकमत छन् । ‘सबैभन्दा ठुलो दल भएकाले तेस्रो दलको व्यक्तिलाई सुरुमै प्रधानमन्त्री छोड्दा गलत सन्देश जान सक्ने’ भन्दै कांग्रेसभित्र पहिलो कार्यकाल कुनै हालतमा पनि प्रधानमन्त्री छोड्न नहुने मत बलियो छ ।

कांग्रेसभित्र संस्थापन र संस्थापनइतर दुवै समूहले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने सामान धारणा राखिरहेका छन् । कांग्रेस महामन्त्री गगन थापाले ‘आलोपालो प्रधानमन्त्रीको कुनै पनि गोप्य सहमति कांग्रेसका लागि मान्य नहुने र कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने’ बताउँदै आएका छन् । बुधबार संसदीय दलको नेतामा पराजित भएपछि कांग्रेस महामन्त्री थापाले ‘अँध्यारो कोठामा हुने आलोपालो निर्णय नमान्ने’ चेतावनी दिएका थिए ।

उनीबाट सार्वजनिक भए पनि सत्ता साझेदारीमा पार्टीभित्र संस्थागत र पारदर्शी निर्णय हुनुपर्नेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि समान धारणा छ । गगनले सार्वजनिक रूपमै दिइरहेको चुनौती तथा पार्टीका अन्य नेताले समेत ‘माओवादीलाई सरकारको नेतृत्व दिन नहुने’ बताउँदा देउवा स्वयंमा पनि पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री नदिन दृढ देखिँदै आएका छन् ।

स्रोतका अनुसार पार्टीको औपचारिक निर्णयविपरीत जान पनि देउवालाई अप्ठ्यारो छ । गठबन्धनमा आफ्नो पार्टीको संसदीय दलको निर्वाचनपछि ‘पावर सेयरिङ’ छलफल गर्ने प्रस्ताव गरेका देउवाले गत ३ पुसमा कार्यसम्पादन समिति बैठक राखेर सरकारको नेतृत्व कांग्रेसले लिने निर्णय गराएका थिए ।

पार्टीको निर्णय देखाएर देउवाले सरकारको नेतृत्व छाड्न नसक्ने बताउने गरेका छन् । ‘कांग्रेसले संविधान व्यवस्थाबमोजिम सरकारको नेतृत्व दावी गर्नु स्वाभाविक हुन्छ । यसर्थ, नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकार गठन गर्नका लागि गठबन्धनमा रहेका दललगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने यो बैठक निर्णय गर्दछ,’ गत ३ पुसमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकको १ नम्बर निर्णयमा भनिएको छ ।

सोही निर्णयका आधारमा कांग्रेस नेता पहिलो कार्यकालको प्रधानमन्त्री नछोड्ने अडानमा रहेका हुन् । देउवानिकट स्रोतका अनुसार प्रचण्डलाई गठबन्धन छाड्न पनि नदिने र प्रधानमन्त्री पनि दिई नहाल्ने रणनीतिमा देउवा छन् । देउवा र प्रचण्ड दुवै आ– आफ्नो अडानबाट टसमस भएका छैनन् । ‘दुवै नेताबीच छलफलबाटै टुंगो लाग्छ,’ एक कांग्रेसले नेता भने ।

यद्यपि, प्रचण्ड कुनै पनि बेला एमालेसँग नजिकिन सक्छन् भन्ने भय र आशंकामा रहेका देउवाले प्रचण्डलाई एमालेमा मिल्न नजानेगरी थप रणनीति बनाइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार प्रत्यक्षतर्फ तीन गुणाभन्दा कम सिट जितेको माओवादीलाई सरकारको नेतृत्व सुम्पिनु अहिलेको जनमतको अपमान हुने कांग्रेसको संस्थागत पक्षको विश्लेषण छ ।

कांग्रेसले ५७ सिट जित्दा माओवादीले त्योभन्दा ३९ सिट कम अर्थात् १८ मात्र जितेको छ । जुन निकै न्यून हो । कांग्रेसका अधिकांश नेता १८ सिट भएको पार्टीलाई प्रधानमन्त्रीको किस्ती सुम्पिएर ‘पछि कांग्रेस कुन मुख देखाएर जनतामा जान मिल्छ ?’ भनेर नेतृत्वसँग प्रश्न गरिरहेका छन् । संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय भोलि आइतबार साँझ ५ बजे सकिँदै छ ।

त्यतिबेलासम्म प्रधानमन्त्री दावी पेस गरिसक्नुपर्नेछ । त्यस्तो दावी कसैले पेस गर्न नसकेमा राष्ट्रपतिबाट ७६ (३) अनुसारको सरकार गठन गर्न आह्वान हुनेछ । ७ ६ ( ३ ) अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेता प्रधानमन्त्री चुनिन सक्ने व्यवस्था छ । त्यो प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ । सोअनुसार सरकार गठनका लागि आह्वान भए कांग्रेसका लागि सहज हुने बताइन्छ ।  आजको राजधानी दैनिकमा खबर छ ।