
काठमाडौं, १ पुस । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठाएको बताएका छन् ।
कुनै पनि दललाई स्पष्ट बहुमत नआएको चुनावी परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठाएको र यसले दलहरूबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने उनले बताएका हुन् ।
संवाद डबलीले शुक्रबार आयोजना गरेको कार्यक्रममा महासचिव गुरुङले दलहरूबीचको सम्भावित द्वन्द्व र अविश्वास न्यूनीकरण गर्न दलहरूको बीचमा समझदारी आवश्यक रहेको तर्क गरेका छन् । दलहरूबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने गम्भीर टिप्पणी समेत उनले गरेका छन् ।
‘अहिलेको चुनावले केही नयाँ सङ्केत गरेको छ, नयाँ दलहरूको मिसन र भिजन प्रष्ट भइसकेको छैन । उनीहरू कतातिरको बाटोमा हिड्ने हुन् हेर्न बाँकी छ तर पनि प्रणालीमाथि केही प्रश्न उठेका छन् । दल र नेताहरूले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र युक्रेन नहोला भन्न सकिँदैन,’ गुरुङले भने ।
राष्ट्रिय स्वाधीनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिवद्धताका आधारमा गुरुङले आफूहरूको सहकार्य हुने बताए । महासचिव गुरुङले देशको अभिभावक तथा अहिलेको परिवर्तनको संवाहक जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दल र नेताहरू भएको बताउँदै शान्ति प्रक्रियामार्फत अहिलेको अवस्थामा दलहरू पुगेको स्मरण गराए ।
‘जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दलहरू देशका अभिभावक हुन् । मुख्यगरी विचार र सिद्धान्त र अहिलेको परितर्वनको हिसाबले माओवादी देशको अभिभावक हो । यो जिम्मेवारीबाट पछि हट्नु हुँदैन । शान्तिप्रक्रियाका हस्ताक्षरकर्ता भएकोले प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ ।’
विश्वमै कम्युनिस्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताए । उनले आफूहरूले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताए ।















प्रतिक्रिया