१ कार्तिक २०८३, आइतबार

दिनभरका TOP 15 NEWS

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले औपचारिक रुपमा निर्वाचन परिणाम घोषणा र त्यससम्बन्धी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै मुलुक औपचारिक रुपमा नयाँ सरकार गठनको प्रक्रियातर्फ अगाडि बढेको छ ।

यद्यपि, दलका नेताहरूले भने अनौपचारिक रुपमा यसअघिदेखि नै विभिन्न कोणबाट सरकार गठनलगायत शक्ति बाँडफाँडबारे गृहकार्यहरू गरिरहेका छन् । निर्वाचन परिणामले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनलगायत विषयहरू पेचिलो बन्नाका साथै मुलुक अस्थिरतातर्फ जाने चिन्ता आमरूपमा बढिरहेको छ ।

वर्तमान गठनबन्धन निरन्तर रहँदा अझ अस्थिरताले बल पाउने विश्लेषणका साथ पछिल्लो केही दिनयता संसदमा ठूलो दल बनेर उपस्थित हुन लागेको नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्तासहकार्य हुनुपर्ने धारणाहरू सार्वजनिक भइरहेका छन् । साना दलहरूलाई मिलाएर सरकार गठन गर्दा बीचमा समस्या आइरहने अनुमानका साथ दुई ठूला दलहरू मिलेर सरकार गठन गर्नुपर्ने आवाज उठिरहेको हो ।

यस्तै, कामचलाउ सरकारले अपराधी छुटाउन ल्याएको अध्यादेशको सर्वत्र विरोध भइरहेको छ । केही लाभग्राही व्यक्ति र समूहबाहेक राज्यका सम्पूर्ण शक्तिले सरकारको पछिल्लो कदमको विरोध गरिरहेको छ ।

हेरौँ आजका प्रमुख समाचारका हेडलाइनहरू–

१. निर्वाचन परिणाम प्रतिवेदन बुझाइयो : निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन, प्रदेश प्रमुखहरूलाई शनिबार बुझाइँदै, नयाँ सरकार गठनको बाटो खुल्ला ।

२. अध्यादेश गैरसंवैधानिक छ : सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेकाले तत्काल फिर्ता लिन नेकपा (एमाले) का नेता एवम् पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलको आग्रह, कामचलाउ सरकारले अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको टिप्पणी ।

३. लोकप्रिय पार्टी एमाले : निर्वाचनबाट जनताको रोजाइको पहिलो पार्टी बनेकोमा विजय, बधाई र उत्सवका रूपमा एमालेले पुस ५ गते राजधानीमा विशेष कार्यक्रम गर्दै, पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने ।

४. स्थिरता एमालेको चाहना : मुलुकका मुख्य दुई शक्ति कांग्रेस र एमाले मिलेर स्थिरता देशलाई दिनुपर्नेमा नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाको जोड, वामपन्थीको नाममा च्याँखे थाप्ने प्रवृत्ति अन्त्य गर्न कांग्रेस र एमाले मिल्नुपर्ने भनाइ ।

५. ऐतिहासिक परिवर्तनमा मिडियाको भूमिका : नेपालका ऐतिहासिक परिवर्तनहरूमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको भनाइ, जनताको न्याय र अधिकारको पक्षमा सही र तत्थ्यमा आधारित सामग्री सम्प्रेशण गर्नुपर्नेमा जोड ।

६. अध्यादेशविरुद्धको रिट खारेज : रेशम चौधरीलाई छाड्न सरकारले ल्याएको अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज, मन्त्रिपरिषदबाट सिफारिस भएका अध्यादेशहरू राष्ट्रपतिबाट प्रमाणीकरण भएपपछि मात्रै कानुनको रुप धारणा गर्ने तर्क ।

७. नेहा र निहारिका पक्राउ : दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरी सडक आन्दोलनमा, सासु र ससुरालाई पक्राउ गर्नुपर्ने माग गर्दा चौधरीसहित कुमारी आमा निहारिका राजपुत समेत पक्राउ ।

८. सट्टेबाजीमा संलग्न गौली पक्राउ : कतारमा जारी विश्वकप फुटबलमा बेटिङ गराइरहेको अन्तर्राष्ट्रिय कम्पनी वन एक्स बेटको स्थानीय एजेन्ट लमजुङका २६ वर्षीय सुजन गौली पक्राउ, करिब ८ लाख रुपैयाँ कारोबार गरेको अनुमान ।

९. वायुसेवा निगममा करार विवाद : करारमा कार्यरत सबै क्याविन क्रुको करार नवीकरण गर्न नेपाल वायुसेवा निगम तयार भएपछि आजैदेखि उडान सुचारु गरिदै, क्याबिन क्रुको माग पूरा गर्ने गरी मौखिक सहमति भएको स्रोतको दाबी ।

१०. रामचन्द्र पौडेललाई अन्तर्राष्ट्रिय सम्मान : विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने जापानको ‘अर्डर अफ द राईजिङ सन’ सम्मानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सम्मानित, पौडेलद्वारा बिहीबार साँझ सम्मान ग्रहण ।

११. उडान प्रभावित : तराई/मधेसमा बाक्लो हुस्सु र कुहिरोका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित, भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक जहाज उड्न र अवतरण गर्न सकेनन् ।

१२. बलिउड अभिनेता ओबरायले भेटे प्रचण्ड : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता बिवेक ओबरायबीच भेट, चलचित्र र सांस्कृतिक विषयमा छलफल ।

१३. नेप्से परिसूचक घटेकोघट्यै : साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएपछि नेप्से परिसूचक १ हजार ८ सय ८२ दशमलव ६ विन्दुमा झर्‍यो, सबैभन्दा धेरै वित्त उपसूचक बन्यो ऋणात्मक ।

१४. कसले जित्ला उपाधि ? : कतार विश्वकप २०२२ अन्तर्गत शनिबार तेस्रो स्थान र आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै, तेस्रो स्थानका लागि क्रोयसिया र मोरक्को तथा उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै ।

१५. कोरोनाको कहर कायमै : मलेसियामा एकै दिनमा कोभिड १९ बाट एक हजार २०० भन्दा बढी सङ्क्रमित भेटिए, संक्रमणबाट हालसम्म ३६ हजार सात सय ८४ जनाको मृत्यु ।