
बुटवल, २९ मंसिर । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले एमाले र नेपाली कांग्रेस मिलेर मुलुकमा स्थिरता दिनु पर्ने बताएका छन् ।
बुटवलमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले वामपन्थीको नाममा च्याँखे थाप्ने प्रवृत्ति बढिरहेको र त्यसलाई रोक्दै जनताको म्यान्डेट अनुसार मुलुकलाई विकास र समृद्धि दिन एमाले र कांग्रेस मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
प्युठानबाट प्रतिनिधि सभा सदस्य निर्वाचित थापाले मुलुकमा मुख्य दुई शक्ति काँग्रेस र एमाले मात्रै रहेको दाबी गर्दै अर्काको झोला बोक्नेसँग सहकार्य गर्न नहुने बताएका छन् ।
प्रचण्डप्रति लक्षित गर्दै थापाले भने, ‘जनताले अहिलेको निर्वाचनबाट वामपन्थी सरकार बनाउने म्यान्डेट दिएका छैनन् । यसबाट अस्थिरता निम्तिने खतरा बढेको छ । तै पनि ठूला दुई शक्ति कांग्रेस र एमाले मिल्दा पाँच वर्ष स्थिरता दिन सकिने सम्भावना बलियो छ ।’ प्रचण्ड विश्वसनीयताको ठूलो सङ्कटमा भएकाले उनलाई विश्वास गर्न नसकिने थापाको भनाइ छ ।
‘२०७४ सालमा बाम गठबन्धन नीति र सिद्धान्तमा आधारित रहेर गरिएको थियो तर, त्यसलाई माओवादीले उपयोग गरी पार्टी कब्जाको रणनीति बनायो,’ थापाले भने ।















प्रतिक्रिया