
काठमाडौं, २३ मंसिर । बैंक अफ काठमाण्डू (बीओके)ले आफ्ना शेयरधनीलाई करिब २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले २० दशमलव ९५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
२०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४ दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको बैंकले जनाएको छ ।
यस्तै सभाले ग्लोबल बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि पारित गरेको छ । बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १:१ मा रही मर्जरसम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णयहरू सम्बन्धमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ ।
बैंकले हाल १०४ वटा शाखा कार्यालय, ९४ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।















प्रतिक्रिया