
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
आज शुक्रबार पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले नेपालमा उच्च शिक्षा प्रवर्द्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रूपमा रहेको त्रिवि विश्वविद्यालयले पुर्याएको योगदान सबैका सामु जगजाहेर रहेको भन्दै मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति त्रिभुवन विश्वविद्यालयकै भएको दाबी गरे ।
उनले शैक्षिक प्रतिष्ठानको गुणस्तरलाई समयको पदचापसँगै अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिर्दै सरकारले शिक्षा क्षेत्रको विकासको लागि उचित स्रोत र साधनको व्यवस्था गर्दै आइरहे पनि सरकारको लगानीको तुलनामा शिक्षा क्षेत्रबाट प्रतिफल अपेक्षाअनुसार आउन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले विश्वविद्यालयको शिक्षा औपचारिक मात्रै नभएर व्यावहारिक हुनुपर्ने भन्दै शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढी उपलब्धिमूलक र प्रतिफलमुखी बनाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।
दीक्षान्त समारोहमा २०७८ असार १ देखि २०७९ जेठ ३१ सम्म ट्रान्सक्रिप्ट लिई ६०औँ ग्रेस लिष्टमा समावेश भएका ६३ हजार १३७ जनामध्ये १० हजार २०० विद्यार्थी उपस्थित भएका थिए ।
समारोहमा एमफिल, विद्यावारीधि र सर्वोत्कृष्ट अंक ल्याउनेलाई पदक वितरण गरिएको छ ।















प्रतिक्रिया