१ कार्तिक २०८३, आइतबार

ग्लोबल आईएमई बैंकले पारित गर्‍यो बीओकेसँगको मर्जरसम्बन्धी विशेष प्रस्ताव

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । ग्लोबल आईएमई बैंकको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आज शुक्रबार सम्पन्न सभाले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । दुई बैंकबीच हुने मर्जर सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरूपमा पारित गरेको बैंकले जनाएको छ ।

साधारणसभाले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ स्वीकृत गरेको छ । यस्तै, गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जरसम्बन्धी अन्य प्रक्रिया पूरा भइसकेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, साधारणसभाले बैकको अधिकृत पु‘जी २५ अर्ब रूपैयाँलाई वृद्धि गरी ५० अर्ब रूपैयाँ पुर्याउने प्रस्तावलाई समेत पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नाका साथै आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रूपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रूपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

शेयरधनीको आकांक्षाअनुरूप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको पनि उनले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद व्याज आम्दानी तर्फ गत वर्ष भन्दा १ अर्ब १५ करोड रूपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत बर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रूपैयाँ कायम भएको छ । हाल बैंकले २ खर्ब ८९ अर्ब रूपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८९० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।