२९ आश्विन २०८३, बिहिबार

मानसिक स्वास्थ्यमा ध्यान नदिंदा बढ्दै आत्महत्या

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, २३ मंसिर । फलानाले, फलानीले आत्महत्या गरेछन् । कस्ता पापी रछन् । हेर परिवारको बिचल्ली । मलामी फर्केको १३ दिनसम्म आदि-इत्यादि सुनिन्छ । त्यसपछि छिमेकी तथा आफन्त आफ्नो घरतिर लागेपछि परिवारका सदस्यले समेत मृत्युको दाग बोकेर बस्छन् । मनभित्रको सदस्य गुमाउनुको पीडा बोकेर यादमा जिउन कति कठिन हुन्छ, कसैले बुझिदिँदैन । कसैलाई पनि मर्न मन हुँदैन तर उसको मनको अवस्था गाह्रो भएको हुन्छ । व्यक्ति मर्नै खोजेको होइन, बाँच्न गाह्रो भएको हो तर यो विषय ओझेल पर्ने गर्दछ ।

कोही कसैले आत्महत्या गर्‍यो भने छिमेकमा केही दिन चर्चा हुन्छ । अलि प्रतिष्ठा बनाएको कोही परेछ भने आम रूपमा पनि छलफल हुन्छ तर आत्महत्या किन हुन्छ र यसलाई घटाउन के गर्न सकिन्छ भनेर खासै बहस हुने गरेको पाइँदैन । आत्महत्या मानसिक समस्याको अन्तिम चरणमा पुगेपछिको रोजाइ हो । समयमै मनोविमर्श सेवा वा मानसिक चिकित्सकको सल्लाह लिन सकेको खण्डमा व्यक्तिले आत्महत्या रोज्दैन ।

रोल्पामा मानसिक स्वास्थ्य समस्या निकै उच्च रहेको एक तथ्यांकले देखाएको छ । जिल्लामा गत कात्तिकमा मात्रै १५ जनाले आत्महत्या गरेको प्रहरीको अभिलेखमा देखिन्छ । साउनयता ४ महिनामा रोल्पामा ३७ जनाले आत्महत्या गरेका छन् । रोल्पामा आर्थिक वर्ष २०७८/७९ मा ७३ जनाले आत्महत्या गरे, जसमा अधिकांश झुन्डिने गरेको प्रहरीको अभिलेखमा उल्लेख छ ।

त्यस्तै २०७७/७९ मा ८३ जनाले आत्महत्या गरेका थिए ।  चरम गरिबी, अत्यधिक मदिरा सेवन देखिने कारण हुन् । गरिबीका कारण मानसिक समस्या छ । त्यही समस्याको उपचार गर्ने पैसा नभएपछि उनीहरूको रोजाइ आत्महत्या हुने गरेको एक प्रहरी अधिकारीले बताए । ‘गरिबी छ, २० रूपैयाँ भयो भने रक्सी खान्छन् तर उपचार गर्नेबारे सोच्दैनन् । उपचार गर्नलाई अलि ठूलो रकम नभएकाले पनि व्यक्ति अस्पताल सम्म पुग्दैनन् ।’

एक दिनमा ४ वटा आत्महत्याको पोस्टमार्टम गरेका रोल्पा अस्पतालका डा. आधार वली मदिरा प्रमुख कारण भएको बताउँछन् । ‘कारण एउटा मात्र छैन । गरिबी, बेरोजगारी, वैदेशिक रोजगार लगायतले आत्महत्या बढाइरहेको छ । अलि सचेत ढंगले चासोका साथ समस्या समाधानमा काम सुरु गर्ने समय आइसकेको छ,’ उनले भने । चिकित्सकका अनुसार तत्कालीन द्वन्द्वको अवशेष अझै छ, जसले मानसिक समस्या घट्न दिएको छैन ।

डा. वली आत्महत्या रोकथामको बलियो आधार मनोविमर्श सेवा नै भएको बताउँछन् । ‘पहिलो कुरा केस फाइन्डआउट गर्नुपर्‍यो अनि परामर्श सुरु गर्नुपर्छ । मानिसमा मानसिक स्वास्थ्य समस्या हो भन्ने बुझाइ नहुँदा पनि समस्या थपिएको हो,’ उनले भने, ‘बेलैमा उपचार गर्न सके मानसिक समस्या समाधान गर्न सकिन्छ । मानसिक बिरामीलाई थप माया र स्नेहको खाँचो चाहिन्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ ।’

स्थानीय स्तरका समस्यामा केन्द्र सरकारको आँखा नपुगेको भन्दै संघीयता मार्फत घरछेउमा ल्याइएको स्थानीय सरकार पनि यस्ता विषयमा गम्भीर बनेको पाइँदैन । जिल्लामा मदिरा खानेहरूको संख्या बढी हुनु, विद्यालय खुलेको ८ महिनासम्म विद्यार्थीको हातमा पुस्तक नपुग्नु, घरमा बिरामी हुँदा आर्थिक अभावले उपचार गर्न नसक्नु, बालबच्चाको माग पूर्ति गर्न नसक्नु, अत्यधिक गरिबीलगायत आत्महत्या हुनाका कारण रहेको प्रहरी बुझाइ छ ।

भर्खरै स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सकिएको छ । मतदाताका घरमा उम्मेदवार पुगेर भोट मागेका हुन् । जित्नेले सरकार चलाउन सुरु गर्छ भने हार्नेले असहयोग सुरु गर्छ तर जनताका समस्यामा ध्यान नदिएकाले यसो भएको एक सरकारी कर्मचारी बताउँछन् । ‘जनजीविकामा कोहीकसैलाई मतलब छैन । रोल्पामा आत्महत्या भयावह बनेको सबैलाई थाहा छ तर त्यो विषयमा कोही कसैले छलफलसमेत गर्दैनन् ।’

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन् । १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो । विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशमा भएको छ । नेपालमा आत्महत्यासम्बन्धी नियमित तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनले २०१२ मा उमेरअनुसारको आत्महत्याको दर निकालेको थियो ।

नेपाल आत्महत्याबाट मृत्यु हुने देशमा सातौं स्थानमा रहेको र प्रति १ लाखमा २५.९ जना व्यक्तिले आत्महत्या गर्ने देखिएको छ । सन् २००८/०९ मा गरिएको मातृमुत्यु र रुग्णता अध्ययनले प्रजनन उमेर समूहका महिलाको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको जनाएको छ । यसले नेपालमा मानसिक स्वास्थ्य अवस्था अत्यन्तै कमजोर र भयावह रहेको देखाउँछ ।

विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तीनै तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै समस्या समाधानका लागि बेलैमा सोच्न सक्ने हो भने आम नागरिकले समस्याबाट मुक्ति पाउनेछन् । हरेक स्थानीय तहहरूले एकजना मनोविमर्शकर्तालाई खटनपटन गर्न सके मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुनेछ । आजको नागरिक दैनिकमा खबर छ ।