
काठमाडौं, २२ मंसिर । ललितपुरको ग्वार्को चोकमा भोलिदेखि ‘फ्लाइ ओभर विथ अप्रोच रोड’ निर्माण सुरू गरिने भएको छ ।
भोलिदेखि सुरू भएर १४ महिनापछि निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सडक विभागले राखेको छ । यो अवधिमा फ्लाइ ओभर बन्ने स्थान र त्यस वरपरका सडकहरू भएर गुड्ने सबै प्रकारका सवारी साधनहरू प्रभावित बन्ने छन् ।
यसरी गर्दैछ ट्राफिक प्रहरीले सवारी व्यवस्थापन
ट्राफिकर प्रहरीका अनुसार भोलि बिहान ६ बजेदेखि नै नियमित बाटो भएर सवारी सञ्चालन गर्न पाइने छैन । नियमित सडक रूट व्यस्त हुने भएपछि प्रहरीले सर्भिस लेन र फास्टट्रयाकको विकल्प दिएको छ ।
फ्लाइ ओभर निर्माण सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट बल्खूसम्म सर्भिस लेनमा र निजी चारपाङ्ग्रे सवरी साधनहरूलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने ट्राफिकर प्रहरीले जनाएको छ ।
यस्तै बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारी साधनहरूलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा र निजी चारपाङग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने भएको छ ।
उल्लेखित सम्पूर्ण सवारी साधनहरूले तोकिएको वैकल्पिक रुट प्रयोग गरी सवारी सञ्चालन गर्न/गराउन सबै सवारी साधनका चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले अनुरोध गरेको छ ।
फ्लाइओभर चक्रपथको बीचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुने छ । जसको कुल लम्बाइ ४५५ मिटर हुने छ । यसको लागत करिब २४ करोड रुपैयाँ हुने अनुमान छ ।















प्रतिक्रिया