३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । आगामी सरकार गठनका लागि पार्टीका शीर्ष नेताहरुको दौडधुप जारी नै छ । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न सिटौला प्रचण्ड निवास खुमलटारमै पुगेका थिए । सिटौलासँगको भेटमा प्रचण्डले आगामी प्रधानमन्त्री आफू बन्ने इच्छा व्यक्त गरेका बताइएको छ ।

यसैबीच, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आवश्यक परेको खण्डमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुन सक्ने संकेट गरेका छन् ।

उनले तत्कालका लागि नेकपा माओवादी केन्द्रसँग भने तालमेलको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

हेरौँ आज दिनभरका प्रमुख समाचारहरु-

१. प्रचण्ड र सिटौलाको भेट : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता, सिटौलासँग प्रचण्डले व्यक्त गरे प्रधानमन्त्री बन्ने इच्छा ।

२. कांग्रेस र एमाले मिल्न सक्ने : तत्कालका लागि माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने पक्षमा एमाले नरहेको एमाले उपाध्यक्ष सुरे्रन्द्र पाण्डेको टिप्पणी, मुलुक गम्भीर दिशामा जाने अवस्थामा भने कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आउन सक्ने भनाई ।

३. एमाले र कांग्रेस मिल्नुपर्छ : कांग्रेस र एमाले मिलेर आगामी सरकार बनाउनुपर्ने कांग्रेस नेता विजयकुमार गच्छदारको भनाई, अबको प्रधानमन्त्री पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने ठोकुवा ।

४. बैठक बस्दै : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने, निर्वाचन परिणामको समीक्षका साथै भावी सरकार गठनलगायत विषयमा छलफल हुने ।

५. रविको पार्टीमा लफडा : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद, प्राइमरी इलेक्सनमा थोरै मत ल्याउनेलाई ससमानुपातिक सांसद चयन गर्न लागेको भन्दै असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालयमै विरोध ।

६. विकास र समृद्विको सपना : पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त ।

७. समानुपातिकको सूची बुझाउन निर्देशन : शनिबार अपरान्ह ४ बजेसम्म समानुपातिक सांसदको नाम पेस गरिसक्न निर्वाचन आयोगको आग्रह, प्रदेशतर्फ पनि दलहरुले तीन दिनभित्र नाम छनोट गरेर आयोगमा बुझाउनुपर्ने ।

८. जनमत पार्टीको बैठक : सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक बिहीबार सम्पन्न, बैठकद्वारा पार्टीको संसदीय दलको विधान अनुमोदन गर्नुका साथै समानुपातिकतर्फको नाम तय ।

९. प्रदुषण पास भएका सवारी चलाऔँ : प्रदुषण पास भएका सवारी मात्रै चलाउन वन तथा वातावरण विभागको आग्रह, पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाखसम्म जरिवाना ।

१०. वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ : दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटका ४० वर्षीय नरसिंह विष्ट हत्याको आरोपमा वर्तमान र निर्वमान वडाध्यक्ष पक्राउ, पक्राउ पर्नेहरुमा ब्यास गाउँपालिका ४ का वडाध्यक्ष झुनसिंह विष्ट र निवर्तमान वडाध्यक्ष संग्रामसिंह विष्ट ।

११. आउने भयो पानी : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भोलिदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने, उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग ।

१२. विमानमै बिरामी परेपछि… : काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमानमा यात्रुलाई आकाशमै हर्टअट्याक, विमानलाई काठमाडौं नै फर्काएर विरामीलाई नर्भिक अस्पताल पठाइयो ।

१३. प्रदुषित पानी : पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भएको पुष्टि, घरघरमा स्वास्थ्यकर्मी खटाएर एक सय बढीको उपचार ।

१४. एलन मस्क दोस्रोमा झरे : फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट बने विश्वको सर्वाधिक धनाढ्य व्यक्ति, एलन मस्क दोस्रो स्थानमा झरे ।

१५. प्रशिक्षक बर्खास्त : विश्वकप फुटबलबाट बाहिरिएपछि स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त, नयाँ प्रशिक्षक ल्याएर नयाँ योजना थाल्ने स्पेनिस फुटबल संघको भनाई ।