१ कार्तिक २०८३, आइतबार

विजय गच्छदार भन्छन्– स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले मात्र देशमा समृद्धि आउने कुरामा जोड दिएका हुन् ।

उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए ।

पाँच वर्ष सरकार निर्वाधरूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने भन्दै पूर्वउप्रधानमन्त्री गच्छदारले भने, ‘वर्तमान संविधान जारी गर्न मेरो पनि अहम भूमिका रहेकाले यो संविधानलाई दीगो र बलियो बनाउन स्थिर सरकार आवश्यक छ ।’

अहिले पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको उनको भनाइ छ । ‘निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिक रूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन,’ उनले भने ।

नेतृत्व हस्तान्तरण एवम् परिवर्तन प्राकृतिक कुरा हो भन्दै नेता गच्छदारले जनताले आफूलाई न्याय गरेको टिप्पणी समेत गरेका छन् ।