१ कार्तिक २०८३, आइतबार

औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा आन्दोलन घोषणा, भाडादर फिर्ता लिन माग

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले वृद्धि गरेको भाडादर तत्काल फिर्ताको माग राख्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आन्दोलनको घोषणा गरेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरित भाडादर वृद्धि गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।

निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकाय नै जिम्मेवारीबाट पन्छिन्दै उद्योगी माथि भार थोपर्ने कार्य गरेको महासंघका अध्यक्ष रामहिरा पाठकले बताए । उनले महासंघको सहमति विपरित २०७५ सालमै सञ्चालक समितिले ७०० प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउनमा भाडावृद्धिको लाखौँको विल उद्योगहरूमा पठाएको जानकारी दिए ।

अध्यक्ष पाठकले राज्यले उद्योगलाई बचाई राख्न छुट, सुविधा र सहुलियत दिनुपर्नेमा राज्यबाट सञ्चालित लिमिटेडले उल्टै ७०० प्रतिशतसम्म भाडा वृद्धि गरी असुल गर्ने निर्णय अमान्य रहेको भन्दै तत्काल फिर्ता लिन माग गरे ।

आफूहरूको मागमाथि सरकारले कुनै सम्बोधन नगरे पहिलो चरणमा यहि मंसिर २५ गतेदेखि महाप्रवन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा तालाबन्दी गर्ने उनले चेतावनी दिएका छन् ।

त्यस्तै लिमिटेडलाई कुनै पनि शुल्क तथा रकम भुक्तानी नगर्ने र भाडावृद्धि फिर्ता गर्न माग सहितको कालो व्यानर तथा कालोझण्डा प्रदर्शन गर्दै आन्दोलनमा उत्रिने अध्यक्ष पाठकले बताए ।