
काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न जातजातीका भाषा र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताएका छन् ।
१९औँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा आज बिहीबार काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न जातजातीका भाषा र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताएका हुन् ।
उनले ज्यापु समुदायले नेपालमा मौलिक कला, संस्कृति र कला कौशलको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रशंसा समेत गरेका छन् । प्रधानमन्त्री देउवाले मौलिक कला र संस्कृतिलाई जोगाउनु सबैको कर्तव्य भएको भन्दै नेपाल सरकारले ज्यापु संस्कृतिको विकासका लागि अक्षय कोष स्थापना गरेको जानकारी दिए ।
ज्यापु दिवस एवम् योमरी पूर्णिमाका अवसरमार काठमाडौंका नेवार समुदायले चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्याली निकालेका थिए । र्यालीमा सहभागीहरू नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए । र्याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।
नेवार समुदायमा बिहान सबेरै योमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाउने परम्परा छ । केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम योमरी रहेको बताइन्छ । नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ । चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रूपमा डल्लो बनाइएको परिकारलाई योमरी भनिन्छ ।















प्रतिक्रिया