बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कारबाही गरिने

दैनिक नेपाल २०७९ मंसिर १९ गते २०:११

काठमाडौं, १९ मंसिर । यातायात व्यवस्था विभागले इम्बोस्ड न्मबर प्लेट जडान नगर्ने सवारी साधनका धनीहरूलाई कारबाही गर्ने भएको छ ।

इम्बोस्ड नम्बर प्लेटमा उल्लेख हुने भाषा नेपाली बनाउनुपर्ने माग गर्दै मुद्दामामिला चलेपछि स्थगित भएको जडान कार्य पुन: सुचारु गरिएको भन्दै विभागले समयमै नम्बर प्लेट जडान गर्न सवारी धनीहरूलाई आग्रह गरेको छ ।

सरकारले इम्बोस्ड नम्बर प्लेटमा उल्लेख हुने भाषा र डिजाइन नफेरिने तथा सुरूकै अवस्था र प्रक्रियाबाट अघि बढाउने निर्णय गरेसँगै पहिलेकै निर्णयअनुसार इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्न थालिएको विभागको भनाइ छ ।

विभागले देशभरका सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्न समयसीमा नै तोकेको छ । जस अनुसार फागुनसम्म करिब तीन लाख दुईपांग्रे र एक लाख चारपांग्रे सरकारी सवारीसाधनले इम्बोस्ड प्लेट जोड्ने विभागको तयारी छ ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गएर अनलाइन आवेदन दिने व्यवस्था गरेको छ । तोकिएका नजिकैको यातायात व्यवस्था कार्यालयमा पुगेर राजस्व तिरेपछि प्लेट लिने र वर्कशपमा गएर जडान गर्न सकिने विभागले जनाएको छ ।

फागुनपछि निजी सवारी साधनलाई पनि क्रमश: अनिवार्य गर्दै लैजाने विभागको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित