शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

वैकल्पिक व्यवस्था गर्न सुकुम्बासीको आग्रह

दैनिक नेपाल २०७९ मंसिर १९ गते १७:५२

फाइल फोटो

काठमाडौं, १९ मंसिर । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म पदयात्रा गरी आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौँदेखि बसोबास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था गर्न माग गरे । ‘वैकल्पिक व्यवस्था बिना गरिएको उठिबास सह्य हुँदैन, वैकल्पिक बसोबास बिनाको उठिबास नागरिक अधिकारमाथिको हनन हो,’ उनले भने ।

उनले सुकुम्बासी विध्वंसकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्बासी भएको बताए । अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरूको वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे ।

यही मङ्सिर १२ गते अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको पहलमा काठमाडौँ महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित