बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अन्तर्राष्ट्रिय नाट्य महोत्सव सकियो, अर्को संस्करण दुई वर्षपछि (फोटो फिचर)

दैनिक नेपाल २०७९ मंसिर १८ गते २१:५१

काठमाडौं, १८ मंसिर । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: विविधताको उत्सव’ भन्ने नाराबा साथ सुरू भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) समापन भएको छ ।

मंसिर ९ गते सुरू भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै शनिबार समापन भएको हो ।

औपचारिक समापन समारोहका प्रमुख अतिथिका रूपमा अर्थमन्त्री जनार्दन शर्माले रङ्गकर्मीको प्रयासबाट नेपालमा रङ्गमञ्चको सक्रियता र विकास भइरहेकोमा प्रशंसा गर्दै सरकारले यसमा आवश्यक पहल गर्न नसकेको स्वीकारे । उनले भने, ‘सरकारले नाटक र रङ्मञ्चको लागि निश्चित नीति तय गर्न सकेको छैन, गर्नुपर्ने जति बजेको व्यवस्था पनि गर्न सकेको छैन, रङ्गमञ्चको विकास र सहजीकरणका लागि आवश्यक पहलहरू आग.ामी दिनमा गर्ने प्रयत्न रहन्छ ।’

त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले रङ्गमञ्च समाजको लागि अपरिहार्य भएकोले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताए । उनले भने, ‘रङ्गमञ्चको विविध आयाम आइसक्यो, हामीले उहिले गर्ने र अहिलेको समकालिन रङ्गमञ्चको शैली, विधिहरू भिन्न भइसके । यसले समाज र मानिसको मनलाई प्रभाव पारिरहेको छ । यसमा लागिपर्ने सबै कलाकर्मी, रङ्गकर्मी यसका धन्यवादका पात्र हुनुहुन्छ ।’

समापन मन्तव्य दिँदै महोत्सव निर्देशक सिर्जना सुब्बाले कोभिडको लामो अन्योलपछि पुन: चलायनमान हुन थालेको नेपाली रंगमञ्चलाई नाट्य महोत्सवले नयाँ उर्जा दियो होला भन्ने अपेक्षा गरेको बताए । उनले भने, ‘समृद्ध समाज र सुन्दर जीवनका लागि रंगमञ्च, कला, साहित्यको अपरिहार्यतालाई जिम्मेवार निकाय र आम रूपमा पुर्याउन नेपाली रंगमञ्च प्रतिवद्ध छ । हाम्रो यो प्रतिवद्धतामा राज्य स्तरबाट पनि उत्तिकै प्रतिवद्धता र पहलहरू आओस् भन्ने हामी चाहन्छौं । किनकी रंगमञ्च, कला, साहित्य विना समाज विकासित त हुन सक्लान् तर समृद्ध हुन पक्कै सक्दैन ।’

त्यस्तै समापन समारोहलाई सञ्चालन गर्ने क्रममा नाटक र रङ्गमञ्चले चर्चित र धनीभन्दा पनि जीवित र असल मान्छे बनाउँछ’ भन्ने ब्रोडवे थिएटरका रङ्गकर्मी टेरेन्स मनको भनाई उदृत गर्दै रङ्गकर्मी केदार श्रेष्ठले समृद्ध समाजका लागि रङ्गमञ्चको संरक्षण, विकास र समृद्धितिर लाग्न आह्वान गरेका थिए । समारोहमा माहेत्सवका सम्पूर्ण सदस्यहरू, सहयोगी, प्रयोजकहरूलाई सम्मान गरिएको थियो ।

समापन नाटकको रूपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर भएको थियो । लोककथामा आधारित प्रनिश मगर लिखित, विकास जोशीको सह दिर्नेशन र पै्रमिला खनालको कोरियोग्राफीका साथ दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ मञ्चन भएको थियो । यो नाटक पुस १७ सम्म नियमित मण्चन हुँदैछ ।

समापनको दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिसकसन पनि भएको थियो । जसमा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गरेका थिए ।

त्यस्तै, सन् २०१९ मा विभिन्न नाट्य संस्थाले संयुक्त रूपमा आयोजना गरेको यस महोत्सवको दोस्रो संस्करणको् आयोजना मण्डला थिएटरले गरेको हो । तेस्रो संस्करण दुई वर्षपछि हुनेछ ।

हेर्नुहोस् समापनका केही तस्वीरहरू–

प्रतिक्रिया
सम्बन्धित