बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेशनल लाइफ इन्स्योरेन्सको ३४औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

दैनिक नेपाल २०७९ मंसिर १८ गते १५:०३

काठमाडौं, १८ मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले घद्धऔँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा कम्पनीले आज साधारणसभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर जारी गर्ने र बोनस शेयरवापतको कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रूपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर लाभांशबाट कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रूपैयाँ पुग्ने छ । बीमा समितिले आगामी चैत मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पुर्‍याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

कम्पनीले बाँकी चुक्ता पूँजी आगामी दिनमा तोकिएको समयभित्र सहज रूपमा पुग्ने स्थिति बनाएको समेत बताएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरू उत्साहप्रद रहेको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रू. १,२५२.४६ करोड पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रू. ४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रू. ३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको बताइएको छ ।

कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आर्थिक वर्ष२०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

कम्पनीले नेपालगञ्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ र कम्पनीको अन्य शाखाहरूमा पनि यो प्रक्रिया सुरू गरिने बताएको छ । कम्पनीले आफ्नो अभिकर्ता सञ्जाललाई थप व्यवसायीकरण गर्ने एवम् सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्ने उल्लेख गरेको छ ।

यसैगरी कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त फ्युचर बोनस प्रोभिजिङ गरेर बीमितहरूलाई दिदै आएको बोनस दरमा यथावत निरन्तरता दिई बीमितहरूलाई उचित प्रतिफल दिन सफल भएको कम्पनीको दाबी छ ।

सभामा अध्यक्षले आउने दिनहरूमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रूपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित