
काठमाडौं, १८ मंसिर । नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रवर्तक एवं पूर्वप्रधानमन्त्री स्वर्गीय टंकप्रसाद आचार्यको १११ औँ जन्म जयन्तीका अवसरमा कोटेश्वरमा रहेको टंकप्रसाद आचार्यको सालिक परिसरमा श्रद्धाञ्जलिसभा सम्पन्न भएको छ ।
श्रद्धान्जली सभामा प्रमुख अतिथिको रुपमा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तत्कालीन समयमा टंकप्रसाद आचार्यले जीवनमा राणा शासन विरुद्धको क्रान्ति, प्रधानमन्त्रीत्वकालमा गरेका आमूल परिवर्तन र प्रजातन्त्र पुर्नस्थापनाका लागि राजनीतिक पार्टीहरु बीच पुर्याएका संयोजनकारी योगदानबारे चर्चा गरिन् ।
‘उहाँहरुले शुरु गर्नुभएको प्रजातानित्रक आन्दोलनबाट नै आज बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना हुदै मुलकले गणतन्त्र प्राप्त गर्न सम्भव भएको छ,’ उनले भनिन्, ‘उहाँका बारेमा अध्ययन गर्दा प्रजातन्त्र प्राप्तिका लागि उहाँको योगदान असाधारण रहेको पाएकी छु ।’
प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेकपा (एमाले) का केन्द्रीय सदस्य गोविन्दप्रसाद दुलालले नेपालमा राजनीतिक परिवर्तनद्वारा नागरिक सम्मान र मानव अधिकार, सामाजिक न्याय एवं प्रजातन्त्र तथा लोक कल्याणकारी राज्यको स्थापना गरी देशको राष्ट्रिय स्वाधीनताको मार्गलाई विकसित गरी शताब्दी लामो जहानिया राणा शासनलाई जन संघर्षबाट अन्त्य गरेका आचार्यको जिवनीबाट धेरै कुरा सिक्न सकिने कुरा बताइन् ।
कार्यक्रममा डा. मीना आचार्यलगायत आचार्य परिवारका सदस्यहरू र पूर्वमन्त्री शान्ता मानवी, राष्ट्रपतिका सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा, प्राध्यापक डा. कुन्दन अर्याललगायत सामाजिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया